शुक्रबार, जेठ ४, २०८१

परिवारका सदस्यलाई कोरोना भए के गर्ने ?

नेपालखोज २०७८ जेठ १९ गते १४:४९

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएपछि हरेक व्यक्तिले सचेत हुनुपर्ने अवस्था आएको छ । सहर र गाउँ सबैतिर फैलिएको कोरोनाबाट कसरी बच्ने र बचाउने भन्ने विषयमा सबैले जान्न/बुझ्न आवश्यक छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यसबारे बेला–बेलामा सूचना तथा जानकारी गराउँदै आएको छ ।

मन्त्रालयले घरका सदस्यलाई कोरोना संक्रमण भए कसरी रेखदेख तथा स्याहार गर्ने भनेर यस्तो सुझाव दिएको छ । कोभिड-१९ व्यवस्थापनसम्बन्धी परिवारका सदस्यले अपनाउनै पर्ने पाँच चरण

चरण : १
यदि कसैलाई कोभिड–१९ संक्रमण भएको आशंका लागेको छ भने तुरुन्त पीसीआर परीक्षण गराऔं ।

चरण : २
एक व्यक्तिले मात्र संक्रमितको हेरचाह गरौं । परिवारका अन्य सदस्यलाई पनि कोभिड–१९ का लक्षणहरू देखिन सक्ने भएकाले सतर्क रहौं ।

चरण : ३
संक्रमितलाई छुट्टै कोठामा राखौं । पौष्टिक खानेकुरा खुवाऔं, आराम गराऔं र संक्रमितले प्रयोग गरेका सामान अलग्गै राखौं ।

चरण : ४
संक्रमितको शरीरमा अक्सिजनको मात्रा कम भई अप्ठ्यारो महसुस भएमा, संक्रमित स्वयंले आफ्नो हेरचाह गर्न नसक्ने अवस्था आएमा तथा बोली लरबरिन थालेमा तुरुन्त अस्पताल लैजाऔँ ।

चरण : ५
सिटामोल खुवाउँदा पनि ज्वरो नरोकिए भिजेको चिसो कपडा संक्रमितको निधारमा राखौं । पल्स अक्सिमिटरले संक्रमितको शरीरको अक्सिजनको स्तर जाँच गरौं । अक्सिजनको मात्रा बढाउन संक्रमितलाई घोप्टो परेर सुत्न लगाऔं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको मानसिक स्वास्थ्यको विशेष ख्याल राख्न पनि परिवारका सदस्यहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया