दरबार हत्याकाण्डको २० वर्ष, अझै खुलेन रहस्य

नेपालखोज २०७८ जेठ १९ गते ८:३९

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो ।

तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।
हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाएर प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, आम नेपालीले विश्वास गरिरहेका छैनन् । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

प्रधानन्यायाधीश संयोजकत्वको समितिपछि उक्त घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । तर बेलाबेलामा सरकारी तवरबाटै यसको छानविनको माग भने उठ्ने गरेको पाइन्छ । तर पनि यस हत्याकाण्डको सत्य घटना सार्वजनिक गर्नेतर्फ कसैले पनि चासो दिने गरेको पाइँदैन ।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।

प्रतिक्रिया