‘अहिलेको आवश्यकता प्रविधियुक्त शिक्षा’

काठमाडौं । स्कुल अफ डेमोक्रेसी नेपालले ‘महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयन’ विषयक भर्चुअल अन्तर्क्रिया गरेको छ ।
अन्तर्क्रियामा प्रमुख अतिथि एवं कांग्रेस उपसभापति विमलेन्द्र निधिले महामारीको शैक्षिक अन्योलतालाई विभिन्न प्रविधिले सहयोग पुर्याएको बताए । तर, विकटका विद्यार्थी भने यो सेवाबाट वञ्चित हुनुपरेको उनको भनाइ थियो । ‘देशको भौगोलिक विकटता, डिभाइस (मोबाइल ल्यापटप) को उपलब्धता, इन्टनेटको असुविधालगायत कारणले अनलाइन कक्षा र परीक्षा सञ्चालनका लागि विश्वविद्यालयहरूले सरकारसँग समन्वय गर्नुपर्छ । सरकारले पनि ती समस्यामा सहजता गरिदिनुपर्छ,’ उनले भने । उनले मुलुकमा गुणस्तरीय शिक्षाका लागि प्रतिस्पर्धा हुनुपर्ने टिप्पणी गरे ।
कांग्रेस नेता एवं पूर्वशिक्षामन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान अवस्थाले विद्यार्थी र अभिभावक भविष्यप्रति चिन्तित रहेको बताए । सरकार र विश्वविद्यालयले अनलाइनबाटै नयाँ प्रविधिको प्रयोग गरी शैक्षिक गतिविधि सञ्चालन गर्न दीर्घकालीन योजना ल्याउनुपर्ने बताए ।
यस्तै पूर्वशिक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता एनपी साउदले सरकारलाई राजनीतिक किचलो गर्नुको साटो सम्पूर्ण ध्यान शिक्षा र स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा केन्द्रित गर्न सुझाए ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले त्रिविले महामारीमा अनलाइनबाट १२५ वटा टिचिङ युनिटमा कक्षा सञ्चालन भइरहेको जानकारी दिए । उनले विद्यार्थीलाई अन्योलमा नपर्न आग्रह गर्दै सबैलाई सहज हुनेगरी परीक्षा सञ्चालन गरिने बताए ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा।डा। भोला थापा आफूहरूले १० वर्षअगाडि नै इलेक्ट्रोनिक लर्निङ फर्म स्थापना गरिसकेको दाबी गर्छन् । गिरिजाप्रसाद कोइरालाले शिक्षा, स्वास्थ्यलाई निजीकरण गर्ने दूरदर्शी निर्णय नगरेका भए अहिले स्थिति भयावह हुने उनी बताउँछन् ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले शैक्षिक सत्र खेर नजाओस् भन्नका लागि बोर्डले सरकारलाई सुझाव दिएको बताए । कक्षा १० को मूल्याङ्कनलाई असार १० भित्र टुङ्ग्याउने गरी काम भइरहेको उनले बताए । परीक्षा नहुने बित्तिकै विद्यार्थीको सबै खत्तम हुन्छ भन्ने गलत धारणा रहेकाले त्यसलाई त्याग्न उनी सुझाव दिन्छन् । पौडेलले कक्षा १२ को परीक्षाको हकमा भने बोर्ड अझै केही समय कुर्ने बताए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले भौतिक रुपमा विद्यार्थीलाई उपस्थित नगराई विभिन्न संकायमा व्यावहारिक कक्षा र परीक्षा कुनै पनि हालतमा सञ्चालन गर्न नसकिने बताउँछन् ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रसाद लामिछानेले आफूहरूले यसअघि आयुर्वेद संकायको कक्षा र परीक्षा पनि अनलाइन माध्यमबाट नै गरेको बताउँछन् । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा। यादवराज कोइरालाले अनलाइन कक्षा र परीक्षा सञ्चालनका सम्बन्धमा आफूहरू तीव्र छलफलमा रहेको र चाँडै निष्कर्षमा पुग्ने बताए ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले डिजिटल उच्च शिक्षा प्रणालीलाई अब सबैले ध्यान दिनुपर्ने बताए । विश्वविद्यालयले पुराना कोर्स पढाएर नहुने नयाँ समयसापेक्ष कोर्स ल्याउनुपर्ने सिंहले बताए । विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रणाली अवलम्बन गर्नुपर्नेमा उनको जोड थियो ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेम नारायण अर्यालले अबको शिक्षा प्रणाली सूचना प्रविधीमैत्री बनाउनुपर्ने र त्यसका लागि सरकारले बिशेष ध्यान दिनुपर्ने बताए ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपछि प्रा.डा. अम्मराज जोशीले सबल, सूचना प्रविधिमैत्री शिक्षा प्रणालीका लागि राज्यले अधिकतम बजेट र ध्यान शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने बताए । राजश्री जनक विश्वविद्धालयका उपकुलपति प्रा.डा. भरत झाले भर्चुअल कक्षा र परीक्षा सञ्चालन गर्न विभिन्न कारणले ४० प्रतिशतभन्दा बढी विद्यार्थीको सहभागिता नहुने देखिँदै आएको बताए ।
कांग्रेस नेता एवं स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले शिक्षा र स्वास्थ्य जस्तो जनताको आधारभूत विषय राज्यको स्वामित्वमा राखेर जनपहुँचमा पुर्याउनुपर्ने धारणा राखे । ‘हुनेले तिर्ने र नहुनेका लागि निस्शुल्क रुपमा शिक्षा र स्वास्थ्यको उपलब्धता हुनुपर्छ । त्यसपछि मात्रै देश समृद्धितिर जानसक्ने छ,’ उनले भने।
महामारी एक दुई वर्षमा जाने भए पनि सरकारले शिक्षाप्रति देखाएको उदाशीनतामा सुधार नआए सय वर्षसम्म यसको असर बाँकी रहने बताए । उनले गाउँ-गाउँका विद्यार्थीहरूलाई पनि इन्टरनेटको पहुँचमा पुर्याउनुपर्ने धारणा राखे । नेपाल प्राध्यापक संघका अध्यक्ष बुद्ध थापाले सामुदायिक क्याम्पसमा अध्यापन गराउने प्राध्यापकहरूको अवस्था कहाली लाग्दो रहेकामा सरकार भने त्यसप्रति उदाशीन रहेको उनले बताए ।
नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले सरकारको अकर्मण्यताका कारण दूरदराजमा रहेका विद्यार्थीहरू शिक्षाबाट बञ्चित भएको बताए । पाँच सय हाराहरीमा उपस्थित रहेको भर्चुअल कार्यक्रममा युवा नेतृ विमला राई, मनोज शाह र विष्णु बडैलालगायतले शिक्षा सुधारबारे आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया