नेप्सेद्वारा खानीखोला हाइड्रोपावरको कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले खानीखोला हाइड्रोपावरको कारोबार रोक्का गरेको छ । नेप्सेमा सूचीकृत खानीखोलाले वित्तीय विवरणहरु सार्वजनिक नगरेको पाइएपछि कारोबार रोक्का गरिएको हो ।
नेप्सेले बिहीबार एक विज्ञप्ति जारी गर्दै खानीखोला हाइड्रोपावरको कारोबार रोक्का गरेको जानकारी गराएको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ (क) मा भएको व्यवस्था बमोजिम वित्तीय विवरणहरु नेप्सेमा पेश नगरेकोले जेठ २० गतेदेखि कारोबार रोक्का गरेको हो ।
आज खानीखोला हाइड्रोपावरको शेयर मूल्य २.३४ प्रतिशतले घटेर प्रतिकित्ता २५० रुपैयाँमा अन्तिम कारोरबार भएको छ ।
मंगलबार सामाजिक सञ्जालमा ‘काका’ नामले परिचित केशब कोईरालाले खानिखोला हाइड्रोपावरलाई कारबाहीको माग गर्दै धितोपत्र बोर्डमा पुगेर निवेदन दर्ता गरेका थिए । कोइरालाले खानिखोला हाइड्रोपावरले २०७६ सालमा प्रकाशन गरेको वित्तिय विवरण अनुसार नै उक्त कम्पनीको नेटवर्थ ७ रुपैयाँ नकारात्मक रहको र हालसम्मको निरन्तर घाटाले कम्पनीको नेटवर्थ करिब नकारात्मक ५० रुपैयाँसम्म पुगिसकेको हुनसक्ने अनुमान गर्दै यस्तो कम्पनीको सेयर महंगो मूल्यमा किन्दा लगानीकर्ताको लगानी डुब्ने खतरा हुने देखिएकाले उक्त कम्पनीको सूचिकरण खारेजीको माग गरेका थिए ।

प्रतिक्रिया