बिहीबार, वैशाख १३, २०८१

प्रदेश २ : प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज बस्दै

नेपालखोज २०७८ जेठ २४ गते ६:४४

धनुषा । प्रदेश नं २ को प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज (सोमबार) बस्दैछ । प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौं अधिवेशन अन्त्य गरेपछि सोमबार बजेट अधिवेशन आह्वान गरिएको छ ।

मन्त्रिपरिषद्का सिफारिसमा प्रदेश प्रमुख डा राजेश अहिराजले सोमबारका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार बैठकमा दलका नेताहरूले शुभकामना दिने र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आव २०७८÷०७९ का लागि तयार गरिएको पूर्वबजेटको दस्तावेज टेबल गर्ने कार्यसूची छ ।

प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसैगरी सरकारको आव २०७८÷०७९ को नीति तथा कार्यक्रम सोमबार बस्ने प्रदेशसभा बैठकमा पूर्वबजेट छलफलपछि मात्र संसद्मा प्रस्तुत हुने भएको छ । सोअनुसार प्रदेश सरकारले यही जेठ २७ गते नीति तथा कार्यक्रम ल्याइने जनाएको छ ।

प्रदेशसभामा प्रदेश प्रमुख डा अहिराजले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्ने परम्परा भए पनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रम पछाडि धकेलिएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया