भूमि मन्त्रालयअन्तर्गत हुने सेटिङ तोडें : तुम्बाहाम्फे (भिडियोसहित)

काठमाडौं । निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले आफ्नो कार्यकालमा भूमि मन्त्रालयअन्तर्गत केही केही सेटिङको प्रयास हुने गरेको भन्दै त्यस्तो प्रकारको सेटिङलाई आफुले तोडेको बताएकी छन् ।
साथै आफ्नो कार्यकलमा उनले व्यक्तिले आफ्नो नाममा लगेका सरकारी जग्गाहरु सरकारको नाममा फिर्ता गर्न सफल भएको पनि बताएकी छन् । संचारकर्मीसँग कुरा गर्दै मन्त्री तुम्बाहाम्फेले आफ्नो कार्यकालमा व्यक्तिले दुषित मनशायका साथ आफ्नो नाममा दर्ता गरेर लगेको जग्गालाई फिर्ता गर्ने लक्ष्य लिएको भन्दै त्यस्ता जग्गाहरु फिर्ता लिने काम प्रारम्भ गरेको बताइन् ।
उनले सुनसरीमा १७९ बिगाहा जग्गा नेपाल सरकारको नाममा ल्याइसकिएको र काठमाडौंमा पनि अतिक्रमण भएको जग्गा फिर्ता लिने काम पनि अन्तिम चरणमा पुगेको बताइन् ।
उनले भनिन्, ‘सुनसरीमा १७९ बिगाहा जग्गा नेपाल सरकारको नाममा ल्याइसक्यौँ । राजधानीको मुटुमा रहेको जग्गा जुन सरकारको नाममा थियो । दुषित मनशायका साथ विभिन्न व्यक्तिहरुले त्यो जग्गा हडपेका थिए । जग्गा विक्रि वितरण गरिएको थियो । ति व्यक्तिहरुलाई म्याद तामेलको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । व्यक्तिले अतिक्रमण गरेर लगेको जग्गाहरुको हकमा केही केही जग्गाहरु सरकारको नाममा ल्याउने काम सकेका छौँ । र अझैपनि छानविन हुँदैछ ।’
निवर्तमान मन्त्री तुम्बाहाम्फेले आफ्नो कार्यकालमा जग्गा नापजाँचको नयाँ प्रविधि लाइडर प्रविधि अपनाएको र नारायणीदेखि पश्चिम महाकालीसम्मको भुभागमा नापजाँच गरिसकेको पनि जानकारी दिइन् ।
मौसमले साथ दिए यसै आर्थिक वर्षभित्र डाटा प्रोसेसिङको काम सकेर त्यसको रिजेल्ट निस्किन सक्ने पनि उनको भनाई छ । आगामी आवमा नारायणीदेखि मेचीसम्म नापजाँचको काम हुने कार्यक्रम रहेको उनको भनाई छ । उनले विभिन्न अनलाइन प्रविधिको सुरुवात गरेको पनि बताइन् ।
उनले भनिन– ‘मेरो कित्ता प्रविधि कार्यान्वयन भइसकेको छ । लाइडर प्रविधि, हाम्रो डाटा कलेक्शन गरिसकेपछि त्यो प्रोसेसिङ नेपालमै गर्ने र नेपालमा प्रयोग गरिसकेपछि त्यस्ता रअ मेटेरियल कसैले हाम्रो डाटा लिएर जान नपाउने गरी यहीँ छोडेर जानुपर्छ भन्नेमा मैले जोड दिएको छु ।’
प्रतिक्रिया