बुधबार, जेठ ८, २०८२

‘सरकारले प्रेस काउन्सिलको अध्यक्ष नियुक्ति एकलौटी ढंगबाट गर्‍यो’

नेपालखोज २०७८ जेठ २४ गते १७:३०

काठमाडौं । विभिन्न पाँच राजनीतिक दल सम्बद्ध पत्रकारहरुको संगठनहरुले प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्ति सरकारले एकलौटी ढंगबाट गरेको आरोप लगाएका छन् ।

प्रेस युनियन नेपाल, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार संघ नेपालले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको सुझाव र परामर्शमा मात्र प्रेस काउन्सिलका पदाधिकारी नियुक्त गरिनुपर्ने ऐनको व्यवस्थालाई वर्तमान सरकारले पूर्ण रुपमा उल्लंघन गरेर प्रेसको समाचार सामग्री नियमन गर्ने काउन्सिल जस्तो संस्थाको बोर्डमा सरकारले एकलौटी रुपमा आफ्ना कार्यकर्ता मात्र नियुक्ति गरेको आरोप लगाइएको छ ।

साथै उनीहरुले सञ्चार संस्था एवं निकायमा आफ्ना कार्यकर्तालाई राजनीतिक नियुक्ति गर्ने तथा प्रेसलाई थप अंकुश लगाउने गरी भइरहेका क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् ।

‘विशेषगरी विभिन्न सरकारी स्वामित्वका सञ्चार संस्था एवं निकायमा आफ्ना कार्यकर्तालाई राजनीतिक नियुक्ति गर्ने, ती निकायमा नियुक्त व्यक्तिले सार्वजनिक संस्थालाई सरकारका पदाधिकारी तथा सरकारको नेतृत्वकर्ता पार्टीको पक्षमा परिचालन गर्ने तथा प्रेसलाई थप अंकुश लगाउने गरी भइरहेका क्रियाकलापप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया