नक्कली भ्याटबिल प्रयोग गरी राजस्व छली गर्ने ६ कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौं । नक्कली भ्याटबिल प्रयोग गरी करोडाैं रुपैयाँ राजश्व छली गर्ने छ वटा कम्पनीविरुद्ध राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोकले मुद्दा दायर गरेको छ ।
विभागका अनुसार राजश्व छली गर्ने ग्लोवल इम्पेक्स ईन्टरनेशनल सहितका छ वटा कम्पनीहरुविरुद्ध आईतबार उच्च अदालत पाटनमा मुद्धा दायर गरिएको हो ।
सो मध्ये झुट्टा तथा नक्कली मुल्य अभिवृद्धि विजक (भ्याटबिल) प्रयोग गरी राजस्व छलि गर्ने धरान उप–महानगरपलिका–१२ बस्ने ग्लोवल इम्पेक्स ईन्टरनेशनलका प्रोप्राईटर किसन कुमार अग्रवालबाट चार करोड ४२ लाख सात हजार छ सय चौहत्तर रुपैया विगो असुल गरी जरिवाना र कैद मागदावी लिई सोमबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको बिभागले जनाएको छ ।
यसैगरी धरान उपमहानगरपलिका-१२ बस्ने एस.एन.इन्टरनेशनलका प्रोप्राईटर राम निवास अग्रवालबा चार करोड ५२ लाख ४२ हजार सात सय ५३ रुपैया विगो असुल गरी जरिवाना र कैद मागदावी सोमबार नै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।
विभागका अनुसार रुपन्देही सिद्धार्थनगर नगरपालिका –६ बस्ने श्याम कुमार वानियासमेत २ जनाले राजस्व चुहावट गरेको अभियोगमा पाँच करोड ५० लाख ८४ हजार ८२ रुपैया विगो जफत एवं असुल गरी जरिवाना र कैद सजाय मागदावी यही जेठ २१ उच्च अदालत तुलसिपुरमा मुद्दा दायर गरिएको छ ।
यसैगरी पर्सा वीरगञ्ज महानगरपालिका बस्ने भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्र प्रसाद कलवार समेत चार जनाले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा एक करोड २२ लाख पचास हजार नौ सय आठ रुपैयाँ विगो जफत एवं असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई यही बैशाख २८ गते उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजमा मुद्दा दायर गरिएको छ ।
विभागका अनुसार बिल विजक जारी नगरी आयकर छली गर्ने भारत स्थायी भई हाल काठमाडौं १४ कुलेश्वर बस्ने, सत्यनारायण प्रसादबाट ९९ लाख ७५ हजार छ सय रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई यही जेठ २१ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।
रौतहटको वृन्दावन नगरपालिका –६ बस्ने अमन कुमार तिवारीले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ४० लाख रुपैयाँ विगो जफत एवं असुल गरी जरिवाना र कैद सजाय मागदावी यही बैशाख २८उच्चअदालत जनकपुर अस्थायी ईजलास वीरगंजमा मुद्दा दायर बिभागले जननाएको छ ।
विभागका अनुसार छ वटा कम्पनीहरु उपर राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ बमोजिम कसुर गरी राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ१) बमोजिम नगद बिगो तथा कैद सजाँयको माग गरिएको हो ।
प्रतिक्रिया