महोत्तरीमा मध्यराति गोली प्रहार गरी लुटपाट, एक महिला घाइते
नेपालखोज
२०७८ जेठ २५ गते ९:५८

जनकपुरधाम । महोत्तरीमा सोमबार मध्यराति लुटेराको समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् । लोहारपट्टी नगरपालिका ६ मा सोमबार राति लुटेराको समूहले स्थानीय रामकरण साहको घरमा गोली प्रहार गरी लुटपाट गरेको प्रहरीले जनाएको छ ।
महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार लुटपाट गर्ने क्रममा गुहार गर्दा रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साहमाथि लुटेराहरुले गोली प्रहार गरेका छन् । गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । गायत्रीको दाहिने तिघ्रामा गोली लागेको छ ।
लुटेराको समूहले घरमा राखेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाकै तिलहरी, दुबै कानको मुन्द्रा लुटेर लगेका उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया