शुक्रबार, वैशाख १४, २०८१

काठमाडौंमा आज ६४ वर्षकालाई मात्रै खोप दिइने

नेपालखोज २०७८ जेठ २५ गते १०:०४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई मात्र कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने भएको छ । खोप लगाउने कार्य बिहान १० बजेदेखि कामपाका ३२ वटै वडाका केन्द्रमा सुरु भइसकेको छ ।

चौँसठ्ठी वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ ।
कामपाले खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरेको हो ।

सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आज ६४ वर्ष उमेर समूहलाई, जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको छ ।

यसअघि कोभिडको सङ्क्रमण भइसकेको भए एक महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ ।

सरकारले कोभिड विरुद्धको खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने पेशाकर्मी, दीर्घरोगी आदिलाई प्राथमिकताका आधारमा समूह विभाजन गरेर खोप दिँदै आएको छ । यसक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, प्राध्यापक, सार्वजनिक सवारी चालक र सहचालकसहित ६५ वर्षदेखि माथिल्लो उमेर समूहका र १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिएको थियो ।

प्रतिक्रिया