लगानीकर्ताको हकहित र विस्तारका लागि काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्थापनाको २८ वर्ष पूरा गरी २९ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा बोर्डले वेबिनारमार्फत् वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रुपमाउप–प्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आतिथ्यता ग्रहण गरेका थिए । त्यसैगरी कार्यक्रमको विशेष अतिथिमा राजश्व सचिव रामशरण पुडासैनी रहेका थिए भने कार्यक्रममा बोर्डका सञ्चालक समितिका सदस्यहरु, बोर्डका कार्यकारी निर्देशकलगायत अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।
साथै उक्त कार्यक्रममा लगानीकर्ता, पत्रकार लगायत अन्य सरोकारवाला पक्षहरुको समेत भर्चुअल माध्यमबाट सहभागिता रहेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि उप–प्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले पछिल्ला दिनमा पूँजीबजारमा लगानीकर्ताको आकर्षण बढी रहेको, लगानीकर्ताको संख्या तथा लगानीको आकार बढ्दै गएको सन्दर्भलाई लगानीकर्ताको सरकार प्रतिको विश्वासका अर्थमा बुझेको बताए ।
उनले आव २०७८।७९ को बजेटमा पूँजीबजार सम्बन्धी केही महत्वपूर्ण दृष्टिकोणहरु अगाडि सारिएका र विशेष गरी वस्तु विनिमय बजारको आरम्भ गर्ने अठोट प्रस्तुत गरिएकोले यसका लागि बोर्डले आवश्यक गृहकार्य गरी समयमै वस्तु विनिमय बजारको आरम्भ गर्न प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरे । साथै उनले अहिलेको बोर्ड नेतृत्व अन्तर्गत भएका सराहनिय कार्यहरुका लागि नेतृत्वलाई धन्यवाद दिंदै आगामी दिनमा पनि अझ सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास प्रकट गरे ।
कार्यक्रममा उनले इतिहासका अनुभवबाट शिक्षा लिदै, उपलब्धीलाई सबल तुल्याउँदै तथा कमजोरीलाई हटाउँदै आउने दिनमा पूँजीबजारलाई सशक्त, गतिशिल र प्रभावशाली बनाउन सफलता मिलोस् भनि बोर्डको बार्षिकोत्सवको अवसरमा शुभकामना प्रदान गरेका छन् ।
साथै, पूँजीबजारका क्षेत्रमा कुनै पनि अनियमितता हुन नदिई, लगानीका क्षेत्रहरु र दायरा विस्तार गरी मुलुकको आर्थिक वृद्धिमा बोर्डले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्दै लगानीकर्ताको हकहित तथा बजार विकास र विस्तारका लागि अगाडि बढ्न पौडेलले निर्देशन दिए ।
कार्यक्रममा उप–प्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेलले नेपाल धितोपत्र बोर्ड २९ औं वार्षिकोत्सव लेख विशेषांक २०७८ को बिमोचन समेत गरेका थिए । त्यस्तै, बोर्डका अध्यक्षले आर्थिक वर्ष २०७७।७८ को नेपाल धितोपत्र बोर्ड पूँजीबजार उत्कृष्ट पत्रकारिता पुरस्कार र पूँजीबजार तथा वस्तु बजार सम्बन्धी विषयका उत्कृष्ट तीन शोधपत्रहरुको घोषणा गरेका थिए ।
प्रतिक्रिया