बिहीबार, वैशाख १३, २०८१

१३ अंकले नेप्से घट्दा १६ अर्ब ९९ करोडको सेयर किनबेच

नेपालखोज २०७८ जेठ २६ गते १६:१९


काठमाडौं । नेप्सेको उच्च अंकको वृद्धिमा पुनः ब्रेक लागेको छ । अघिल्लो दिन ५३ दशमलव ४४ अंकले बढेको नेप्से आज (बुधबार) भने १३ दशमलव ५६ अंकले घटेर २९ सय ४६ दशमलव ५८ अंकमा पुगेको छ ।

त्यस्तै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८३ अंकले घटेर पाँच सय २५ दशमलव २८ अंकमा पुगेको छ । २२१ कम्पनीको एक लाख ५५ हजार दुई सय ३९ पटकको कारोबारमा तीन करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार सात सय तीन रुपैयाँ पुगेको छ । आज १३ वटा समूहको कारोबार भएकामा सातवटा समूहको सूचक घटेकाे छ । ६ वटा समूहको सूचक बढेकाे छ ।

सोमध्ये वाणिज्य बैंक समूहको सूचक ११ दशमलव ३४ अंकले घटेर १९ सय ५४ दशमलव ४७ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि १५ दशमलव ९१ अंकले घटेर दुई हजार नौ सय ६८ दशमलव ६८ अंकमा झरेको छ । यसैगरी विकास बैंक, लघुवित्त, होटेल तथा पर्यटन, अन्य र लगानी समूहको सूचकहरु पनि घटेका छन् ।

निर्जीवन बिमा समूहको सूचक भने ३९ अंकले बढेर १५ हजार दुई सय ४५ दशमलव ८४ अंकमा चढेकामा जीवन बिमा समूहको सूचक पनि २९ दशमलव १२ अंकले बढेर १८ हजार नौ सय ९४ दशमलव ९६ अंकमा चढेको छ ।

यीबाहेक ट्रेडिङ, फाइनान्स, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहरुको सूचक पनि बढेका छन् । आज युनाइटेड मोदी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९५ प्रतिशतले बढेर चार सय २० रुपैयाँमा कारोबार हुँदा युनाइटेड इदीमर्दी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने नौ दशमलव ८८ प्रतिशतले घटेर पाँच सय २० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय ७९ रुपैयाँ अन्तिम मूल्यमा ८७ करोड ९४ लाख ७७ हजार छ सय ५३ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया