शनिबार, वैशाख १५, २०८१

भोलिदेखि सुरु हुने युरोकपको उद्घाटन खेलमा टर्की र इटाली भिड्ने

नेपालखोज २०७८ जेठ २७ गते १०:५५

काठमाडौं । युरोकप फुटबल प्रतियोगिता-२०२० भोलिदेखि प्रारम्भ हुने भएको छ । इटालीको रोममा हुने १६ औं संस्करणको उद्घाटन खेलमा टर्की र इटालीबीच प्रतिस्पर्धा हुनेछ  । युरोकपको यो संस्करण सन् २०२० मै हुनुपर्ने भए पनि कोरोनाका कारण एक वर्षपछि २०२१ मा हुँदैछ तर यसलाई युरोकप-२०२० नै भनिएको छ ।

प्रतियोगितामा २४ मुलुकले सहभागिता जनाउँदै छन् । यो प्रतियोगिता असार २७ गते (जुलाई ११) आइतबारसम्म चल्नेछ । यसपटकको यूरोकप युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ । जसमा लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचाबुखा, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम तथा सेन्ट पिटर्सवर्ग छन् । फिनल्यान्ड तथा नर्थ म्यासेडोनिया पहिलो पटक युरोकप खेल्दैछन् भने स्कटल्यान्ड सन् १९९८ को विश्वकपपछि पहिलो पटक यति ठुलो प्रतियोगिता प्रतियोगितामा सहभागी हुदैछ ।

अघिल्लो संस्करणको युरोकपमा छनोट हुन नसकी सहभागिताबाट बन्चित नेदरल्यान्ड्स र डेनमार्क यसपटक युरोकपमा फर्किएका छन् ।
युरोकपका पूर्व विजेताहरुमध्ये ग्रिस मात्र यस पटकको प्रतियोगितामा सहभागी छैन । २००४ को युरोकप विजेता ग्रिस यसपाली छनोट चरणबाटै बढारिएको थियो ।  अघिल्लो युरोकप खेलेका उत्तरी आयरल्यान्ड, अल्बानिया, रोमानिया, आइसल्यान्ड  तथा आयरल्यान्ड गणतन्त्र युरो–२०२० मा छनोट हुन असफल रहे । ११ वटा आयोजक देशमध्ये ७ देशले युरोकपको छनोट पार गरेका थिए । हंगेरी र स्कटल्यान्डले प्लेअफ जितेका थिए भने आयोजक देश मध्येका रोमानिया र अजरबैजान छनोट हुन सकेनन् । 

सन् १९६० मा फ्रान्सको आयोजनामा यूगोस्लाभियालाई २-१ ले पराजित गर्दै सोभियत युनियनले पहिलो संस्करणको यूरोकपको उपाधि जितेको थियो । सन् २०१६ को युरोकपको आयोजना फ्रान्सले गरेको थियो जसमा क्रिस्टियानो रोनाल्डोले नेतृत्व गरेको पोर्चुगलले आयोजक फ्रान्सलाई १–० ले हराएको थियो ।

यस पटकको युरोकपको फाइनल खेल लण्डनमा हुनेछ भने युरोकपमा पहिलो पटक भिएआरकोसमेत प्रयोग गरिँदैछ । यसपटकको युरोकपमा सीमित दर्शकलाई मात्र प्रवेश दिइने बताइएको छ । युरोपेली मुलुकहरुबीचको यो प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको छ ।

केहि नियम फेरियो

कोरोनाका कारण युरो–२०२० मा केही नियम परिवर्तन गरिएका छन जसअनुसार एक खेलमा पाँच जना खेलाडी परिवर्तन गर्न पाइनेछ । खेल अतिरिक्त समयमा धकेलिएको अवस्थामा थप एक खेलाडी परिवर्तन गर्न पाइने नियम बनाइएको छ । यसअघि एक टिमले २३ जना खेलाडी राख्न पाउँने नियम भएपनि अब प्रत्येक टिममा २६ खेलाडी रहन सक्नेछन् । 

पुरस्कार कति?

प्रतियोगिताको विजेताले १० लाख प्राप्त गर्नेछ भने उपविजेतालाई ७ लाख तथा सेमिफाइनल पुग्ने टिमलाई ५ लाख युरो प्रदान गरिनेछ । 
यसपटक सहभागी टिमले कम्तिमा ९ दशमलव २५ लाख तथा बढीमा (विजेताले) ३४ लाख युरो नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया