बिहीबार, वैशाख १३, २०८१

नेपालमा किन बढ्दै छन् बर्सेनि विपत्‌का घटना ?, यस्तो छ सरकारको तयारी

यो वर्ष बाढी-पहिरोको जोखिम उच्च, विपत्‌बाट कसरी जागिने ?

मीना साउँद २०७८ जेठ २७ गते १२:२८

काठमाडौं । नेपालमा मनसुन भित्रिने तयारीमा छ । नेपाल भित्रने यसपालिको मनसुनले बाढी र भूक्षयको सम्भावना बढेको छ । त्यसैले बाढी–पहिरोजस्ता विपत्‌बाट जोगिन मौसमविद्‌हरूले चेतावनीसमेत दिएका छन् ।

नेपालको पश्चिमी भूभागमा जेठ २९ र ३० (जुन १२ देखि १३) गते हावाहुरी, चट्याङसहित भारी वर्षाको सम्भावना छ । हिजो मात्र मनसुन साउथ वेस्टबाट विकसित हुँदै महाराष्ट्रसम्म आइपुगेको छ । महाराष्ट्र, आन्ध्रप्रदेश, ओडिसा हुँदै दुई दिनमा वेस्ट बंगालसम्म आइपुग्ने र उक्त मनसुनले जेठ २९ र ३० गते नेपालका पश्चिमी भागमा हावाहुरी, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद् डा. धर्मराज उप्रेतीले जानकारी दिए ।

सामान्यतः नेपालमा मनसुन जुन १० देखि भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिने गरेको छ । यस वर्ष भने जुन १२ मा मनसुन भित्रिँदै छ । नेपालमा मनसुन भित्रिएकै दिन भारी वर्षा हुँदै छ ।

यस वर्ष वर्षा बढी हुने
नेपालमा यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । आगामी मनसुन अवधिमा नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका अधिकांश स्थानमा र प्रदेश १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू-भागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको ३५ देखि ६५ प्रतिशत आकलन गरिएको मौसमविद् उप्रेतीले बताए । त्यसैगरी लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश २ को पश्चिमी भू-भागहरूमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र प्रदेश १ को तराई र प्रदेश २ का पूर्वी जिल्लाहरूमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत आकलन गरिएको मौसमविद् उप्रेतीले बताए ।

जन तथा मौसम विज्ञान विभागले विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारुपहरूको आकलन, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा आकलन गर्ने प्रारुप र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा यस वर्ष नेपालका धेरै स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हो ।

नेपालमा सरदर एक हजार ४१२.७ मिलिमिटर वर्षा हुने गरेको छ । गत वर्ष सरदर मात्रै वर्षा हुने अनुमान गरिएकामा करिब १ सय ९ प्रतिशत बढी वर्षा भएको थियो । भने यस वर्ष त्योभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।

बाढी-पहिरोको जोखिम उच्च
नेपालमा यस वर्ष अन्य वर्षको तुलनामा बढी वर्षा हुने आकलन गरिएसँगै बाढी-पहिरोका घटना पनि धेरै हुन सक्ने सहजै अनुमान लगाउन सकिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसमविद् यस वर्ष विपत्‌का घटना बढी हुन सक्ने बताइसकेका छन् । यस वर्ष बढी वर्षा हुने भनिएका सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका अधिकांश स्थानमा र प्रदेश १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू-भागहरूमा बाढी तथा पहिरोको जोखिम बढी छ । जोखिममा रहेका नागरिकलाई सतर्कता अपनाउन सरकारले यस अघि नै आग्रह गरिसकेको छ । खासगरी बढी वर्षा हुँदा पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढी जाने जोखिम हुन्छ । त्यस्तो समयमा बाढीको जोखिममा रहेका नागरिक र पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक हुन्छ ।

पूर्वतयारीमा चुक्यो सरकार
नेपालमा हरेक वर्ष मनसुन सुरु भएपछि बाढी पहिरोले थुप्रै जनधनको क्षति हुने गर्दछ । हजारौं परिवार घरबारविहीन हुन्छन् । तर, सरकारी संयन्त्र भने ‘जब पर्‍यो राति, तब बूढी ताती’ भन्ने उखानसँग मेल खान जान्छ । विपत्‌जन्य घटना न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्नुपर्ने सरकार मनसुन भित्रिसकेपछि मात्रै पूर्वतयारीमा जुट्न थाल्छ । जसले गर्दा विपद्‌मा परि धेरैले ज्यान गुमाउँछन्, धेरै विस्थापनमा पर्न पुग्छन् । मनसुन भित्रिनुपूर्व तयारीमा जुट्नुपर्ने सरकार विपत्‌का घटना भइसकेपछि राहत वितरणमा मात्रै केन्द्रित हुने गरेको मौसमविद् उप्रेती बताउँछन् ।

उनी भन्छन्, ‘सरकार यहाँ पनि चुक्यो । सरकारी संयन्त्रको बीचमा समन्वय भएर कुन-कुन ठाउँमा जल तथा मौसम विज्ञान विभागले बढी पानी पर्ने अनुमान गरेको छ त्यसको आधारमा बढी पानी पर्ने भनिएका प्रदेशका नगरपालिका, गाउँपालिकाहरूलाई सचेतीकरण गर्ने, विपत्‌ व्यवस्थापन न्यूनीकरण समितिहरूलाई तयारीमा लगाउन सके केही सहज हुन्थ्यो ।’ तर सरकार विपत्‌को पूर्वतयारीभन्दा पनि विपत्‌पछिको राहत वितरणमा केन्द्रित हुने गरेको उनको आरोप छ । विपत्‌को पूर्वतयारीका लागि आवश्यक पर्ने जनशक्ति नै उपलब्ध नरहेको भन्दै सरकार पन्छिने गरेका कारण नेपालमा विपत्‌ व्यवस्थापनको विषय चुनौतीपूर्ण बन्दै गएको छ ।

नेपालमा किन बढ्दै छन् बर्सेनि विपत्‌का घटना ?
नेपालमा प्रत्येक वर्ष विपत्‌जन्य घटनाहरू बढ्दै गइरहेका छन् । गत वर्ष मात्रै नेपालमा विपत्‌का घटनामा परि करिब चार सय बढीले ज्यान गुमाएका थिए भने अर्बौं रुपैयाँको क्षति भएको थियो । हजारौं घरपरिवार विस्थापित भएका थिए । गत वर्ष औसतभन्दा कम वर्षा हुँदा त विपत्‌का घटनामा परि चार सय बढीले ज्यान गुमाउनुपरेको भने यस वर्ष अझ बढी जनधनको क्षति हुन सक्ने आकलन गरिएको छ ।

नेपालमा जोखिमको आकलन गरेर योजना नबन्नु नै बर्सेनि विपत्‌‌जन्य घटना बढ्दै जानुको प्रमुख कारण हो । जलवायु परिर्वतन र विपत्‌का असरहरू कुन-कुन ठाउँमा कस्तो प्रकारले पर्न सक्छ भन्ने कुराको आकलन गरेर प्रत्येक गाउँपालिका, नगरपालिका, प्रदेश तथा केन्द्र सरकारहरूले नक्सांकन नगर्नाले यस्तो समस्या आएको मौसमविद् उप्रेतीको बुझाइ छ । जोखिमको मूल्यांकन, जोखिमको आकलन गरेर योजनाहरू बनाउन सकेको खण्डमा विपत्‌जन्य घटनाहरू कम गर्न मद्दत पुग्ने उनको भनाइ छ । नेपालमा बाढीबाट हुने क्षति न्यूनीकरणको क्षेत्रमा धेरै हदसम्म सुधार हुँदै जाँदा बाढीबाट हुने क्षति कम हुँदै गए पनि पहिरो न्यूनीकरणका क्षेत्रमा भने सुधार हुन नसक्दा पहिरोबाट बर्सेनि धेरै क्षति हुने गरेको छ । जोखिमको मूल्यांकन तथा आकलन नै नगरी पहाडी क्षेत्रमा खनिएका रोडहरूका कारण यस वर्षको वर्षायाममा पहिरोका साथसाथै उर्वर भूमिसमेत मासिएर जाने जोखिम रहेको मौसमवित्‌ धर्मराज उप्रेतीले बताएका छन् ।

विपत्‌बाट कसरी जागिने ?
वर्षायाममा बाढी-पहिरोका हुने विपत् (घटना) प्राय: राति हुने गरेका छन् । दिउँसो हुने घटनामा क्षति कम भए पनि रातिको समयमा हुने घटनामा बढी जनधनको क्षति हुने गरेको छ । कारण हो मानिस राति घटना हुने पूर्वानुमान लगाउन सक्दैन । दिउँसो हुने एकाध घटनामा जनधनको क्षति भए पनि राति हुने घटनाको तुलनामा कम हुने गर्दछ । यस्तो अवस्थामा बाढी पहिरोको जोखिममा रहेका बासिन्दाले सूचनाको पहुँचमा बस्नु पर्दछ । रेडियो सुन्ने, टेलिभिजन हेर्ने, मोबाइलको पहुँचमा बस्नु पर्दछ । यस्तै लगातार बर्षा भइरहेको छ भने मौ;मी गतिविधिबारे कुन क्षेत्रमा कति वर्षा भयो भने कति जोखिम रहन्छ भन्ने कुराको सूचना नागरिकलाई छिनछिनमा गराउन सके नागरिकलाई दुर्घटनामा पर्नबाट जोगाउन सकिन्छ ।

विपत्‌का घटना कसरी न्यूनीकरण गर्न सकिन्छ ?

  • कुनै पनि संरचना बनाउँदा जोखिमलाई आकलन गरेर बनाउने ।
  • कुनै पनि बस्ती बसाउँदा त्यो बस्ती कुन ठाउँमा बस्दै छ । त्यहाँ बस्ती बसाउनयोग्य छ कि छैन भन्ने कुराको आकलन गर्ने ।
  • कुनै पनि घर बनाउँदा कस्तो घर बनाउने, कति सिमेन्ट राख्ने, काठको घर छ भने कस्तो काठ राख्नेलगायत कुरालाई मध्ये नजर गरेर घर बनाउने ।
  • बिल्डिङ कोर्डको पूर्ण रुपमा पालना गरेर भौतिक संरचना बनाउने ।

प्रतिक्रिया