आइतबार, वैशाख १४, २०८२

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले मागे विश्वासको मत, मतदान हुँदै

नेपालखोज २०७८ जेठ २७ गते १३:४८

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफुलाई विश्वासको मत मागेका छन् । अहिले जारी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले सबै दलसँग विश्वासको मत मागेका हुन् । कूल ६० जना प्रदेशसभा सदस्य रहेको गण्डकी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ ।

जसमा एमालेका २७ सांसद छन् । विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् ।

त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने स्पष्ट धारणा दिइसकेकोले विपक्षीको पक्षमा पनि ३० सांसद मात्रै पुग्छन् ।

यस्तो अवस्थामा मुख्यमन्त्रीको पक्षमा २८ जना सांसदको समर्थन हुने देखिएको छ । यसअघि मुख्यमन्त्रीको पक्षमा रहेर मन्त्री समेत बनिसकेका स्वतन्त्र सांसद दीपक मनाङेले हिजो विपक्षी गठबन्धनलाई साथ दिने प्रष्ट संकेत गरेसँगै मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि त्यसमा मतदान हुनुहन्दा एक दिनअघि गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । लगत्तै प्रदेश सभामा ठूलो दलको हैसियतले गुरुङले नै गत वैशाख २९ गते मुख्यमन्त्रीको सपथ लिएका थिए ।

संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने भएपछि गत जेठ २५ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराइएको थियो । गुरुङले विश्वासको मत नपाएविपक्षी गठबन्धनले बहुमत जुटाएर नयाँ सरकार गठन गर्नेछ ।

प्रतिक्रिया