बुधबार, वैशाख १९, २०८१

भारतमा कोरोना संक्रमितदर घट्दै, गत चौबीस घण्टामा ९४ हजार ५२ जना थपिए

नेपालखोज २०७८ जेठ २७ गते १४:२६

नयाँदिल्ली । भारतमा बुधबार एक लाखभन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखापरेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यहाँ गत चौबीस घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन् । एक लाखभन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो ।

गत चौबीस घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण ६ हजार १४८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । एक दिनमा कोरोनाबाट मृत्यु भएको भारतमा अर्थात् संसारभरमै कोरोना सुरु भएयताको यो सबैभन्दा धेरै संख्या हो ।

प्राप्त समाचारअनुसार बिहारमा कोरोना सङ्क्रमणबाट ३ हजार ९७१ जनाको मृत्यु भएपछि भारतमा एकै दिनमा ६ हजार १४८ को मृत्यु भएको बताइएको हो । यद्यपि बिहारबाट प्राप्त यो समाचार एकै दिनको नभएको र मृतकको पुरानो तथ्यांकलाई पनि समावेश गरिएको समाचारमा जनाइएको छ । यसैसँगै भारतमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ५९ हजार ६७६ पुगेको छ ।

अहिले भारतमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ९१ लाख ८३ हजार १२१ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ । गत चौबीस घण्टामा भारतमा एक लाख ५१ हजार ३६७ जना सङ्क्रमित कोरोना मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ७६ लाख ५५ हजार ४९३ जना कोरोना मुक्त भएका छन् । हाल यहाँ ११ लाख ६७ हजार ९५२ जना सक्रिय सङ्क्रमित छन् ।

भारतमा बुधबार एकै दिनमा २० लाख ३४ हजार ६९० जनाको कोरोना परीक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा २३ करोड ९० लाख ५८ हजार ३६० डोज खोप लगाइएको छ ।

प्रतिक्रिया