बिहीबार, चैत १५, २०८०

अफगानिस्तानमा गैरसरकारी संस्थमाथि भएको हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

नेपालखोज २०७८ जेठ २७ गते १७:१०

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफगानिस्तानमा गैरसरकारी संस्थमाथि भएको हमलाको निन्दा गरेका छन् । उनले बुधबार अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको हमलाको निन्दा गरेका हुन् । उत्तरी अफगानिस्तानमा शान्ति कायम गर्ने क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था एचएएलओका कर्मचारीमाथि हमला भएको थियो ।

हमलामा संस्थाका कम्तीमा पनि १० कर्मचारीको ज्यान गएको थियो । साथै हिंसात्मक हमलामा परेर अरु १६ कर्मचारी घाइते पनि भएका छन् । उक्त संस्थाले उत्तरी अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय कार्यक्रमको संयोजकका रुपमा काम गरिरहेको छ ।

यहाँ प्रायः तालिबानीहरुले सडकमा विस्फोटक पदार्थ बिच्छाउने गरेकाले त्यसविरुद्ध नागरिकलाई सचेत गराउने र त्यस विस्फोटमा परी घाइते भएका नागरिकलाई उपचारको व्यवस्था गर्ने काममा सो संस्थाले काम गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघीय कार्यक्रमका कर्मचारीलाई यसरी हमला गरी हत्या गर्नु भनेको शान्तिविरोधी कार्य भएको भन्दै महासचिव गुटरेसले त्यसको विरोध गरेका हुन् । उनले नागरिकका अधिकारका क्षेत्रमा काम गर्ने यस्ता संस्थामाथि गरिएको हमला जघन्य अपराध हो भन्दै त्यसमा संलग्नलाई सख्त कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया