बिहीबार, चैत १५, २०८०

फिलिपिन्समा पोलियो उन्मूलन भएको युनिसेफकाे घोषणा

नेपालखोज २०७८ जेठ २८ गते १४:५६

काठमाडाैं । विश्व स्वास्थ्य संगठन र राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा गरेका छन् । झन्डै दुई वर्ष पहिले निकै संक्रामक यो रोग फिलिपिन्समा पुनः देखा परेपछि देशव्यापी पोलियो उन्मुलन अभियान चलाइएको थियो ।

दुबै राष्ट्रसंघीय संस्थाले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा फिलिपिन्सको स्वास्थ्य सेवा विभागले यस वर्षको जुन ३ देखि पोलियो रोकथाम अभियान औपचारिक रुपमा स्थगित गरेको जनाएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘विगत १६ महिनाको अवधिमा कुनै पनि बच्चामा अथवा वातावरणमा भाइरसका अवशेष नभेटिएपछि यस्तो निर्णय गरिएको हो ।’

खोप र निगरानीका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिएपछि पोलियोका नयाँ बिरामी देखा नपरेको पनि वक्तव्यमा उल्लेख छ । त्यसयता फिलिपिन्स सरकार सहित विश्व स्वास्थ्य संगठन, युनिसेफ र अरु साझेदारहरुले भाइरस प्रसार रोक्न राष्ट्रपति पोलियो अभियान सञ्चालन गरेका थिए ।

कोभिड-१९ का कारण ठूलो संकट आए पनि फिलिपिन्सको स्वास्थ्य सेवा विभागले पोलियो खोप अभियान सफलतापूर्वक सम्पन्न गरेको थियो ।

खासगरी, युनिसेफ र विश्व स्वास्थ्य संगठन दुबैले पोलियो रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य कार्यकर्ताको परिचालन र तालिमका लागि स्वास्थ्य सेवा विभागले लिएको अग्रसरताका लागि धन्यवाद पनि दिएका छन् ।

युनिसेफले फिलिपिन्सको स्वास्थ्य सेवा विभागका लागि खोप खरिद र ढुवानी, खोप निर्देशिका निर्माण, सामाजिक परिचालन समेतका विषयमा सहयोग गरेको थियो ।

पोलियो निकै संक्रामक र घातक रोग हो र यसलाई खोप लगाएर ठिक गर्न सकिन्छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिका मुख्यरुपमा जोखिममा रहन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वका दुई मुलुक अफगानिस्तान र पाकिस्तानमा यो रोग अझै व्याप्त छ ।

प्रतिक्रिया