बुधबार, वैशाख १२, २०८१

सम्झनामा कविता महोत्सव !

कवि एवं गितकार दिनेश अधिकारीकाे एल्बमबाट - ६

दिनेश अधिकारी २०७८ जेठ २९ गते ११:००

असार ९ गते ! राष्ट्रिय कविता महोत्सवको दिन ! तर योपटक महोत्सवको आयोजना गरिएन । गरेको भए हुन्थ्यो। चाहेको भए उपाय पनि थिए । भएन- कुरै सकियो !

तर सम्झना भने आइरह्यो !

वि.सं. २०२२ सालबाट सुरु भएको कविता महोत्सवका लागि राष्ट्रप्रमुखबाट कविताको शीर्षक दिने प्रचलन २०४६ सालसम्म रह्यो भने २०४७ सालदेखि शीर्षक दिने चलनको अन्त्य गरिएपछि स्वतन्त्र रुपमा आफूले लेखेको कविता लिएर कविहरु यसमा सहभागी हुन थाले ।

मैले प्रतियोगी कविका हैसियतमा दुइपटक भाग लिएँ – २०३८ र २०४० सालमा । “गम्काई छाड्छौं विश्वमा हाम्रो माटोको सुवास ” शीर्षकमा भएको २०३८ सालको कविता महोत्सवमा दोस्रो भई रजत पदक र ८००।- रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थिएँ भने ‘शान्ति क्षेत्र नेपाल’ शीर्षकमा भएक‍ो २०४० सालको कविता महोत्सवमा प्रथम भई नगद १२००।- रुपैयाँ र स्वर्ण पदक प्राप्त गरेको थिएँ ।

निकै गरिमा थिय‍ो कविता महोत्सवको । जनसाधारणले व्यक्तिगत रुपमा टेलिफोनको लाइन पाउनु बाघ मार्नु जत्तिकै गाह्रो हुने त्यसबेला कविता महोत्सवमा पुरस्कृत भएकै आधारमा, प्राथमिकता निर्धारण गरिएको सरकारी निर्णय अनुसार, तोकिएको शुल्क तिरेको तीन दिनमै मैले अत्यन्तै सहज ढंगबाट एक लाइन टेलिफोन पाएको थिएँ, जुन म अहिले पनि प्रयोग गरिरहेको छु ।

कविता महोत्सवलाई म त यसरी पनि सम्झन्छु ।

यी तस्बिरहरु सम्झनाका तिनै आँखीझ्यालहरु हुन् ।

प्रतिक्रिया