शुक्रबार, वैशाख ७, २०८१

नेप्से सूचकमा दबाब आए पनि कारोबार उत्साह कायमै, २९ सय ४४ अंकमा नेप्से पुग्दा ८३ अर्ब ९३ करोड रुपैयाँको कारोबार

नेपालखोज २०७८ जेठ २९ गते १३:२८

काठमाडौं । लगानीकर्ताहरूका लागि यो साता पनि सेयर बजार सुखद देखिएको छ । कोभिड-१९ को महामारी नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाबीचमा पनि नेप्से सूचक तथा कारोबार रकम दुवै उच्च अंकले बढेका कारण यो साता लगानीकर्ताहरूका लागि सुखद देखिएको हो ।

नेप्से यो साता पाँच कार्य दिन नै खुला थियो । जसमध्ये पहिलो र तेस्रो कार्यदिन नेप्से उच्च अंकले बढ्यो भने दैनिक कारोबार रकमले पनि सुरुवाती दिनदेखि नै कीर्तिमानी रेकर्ड बनाउँदै गयो । सोही आधारमा नेप्सेले यो साता २९ सय ४४ दशमलव ७८ विन्दु चुम्न सफल भयो भने सेन्सिटिभ इन्डेक्सले पनि पाँच सय २७ दशमलव ८७ अंकको उच्च विन्दु चुम्न सफल भयो । जसकाआधारमा यो साता दुई सय २१ कम्पनीको सात लाख ५३ हजार ६ सय ३९ पटकको कारोबारमा १७ करोड पाँच लाख ९० हजार छ सय ४३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा कुल कारोबार रकम यो साता ८३ अर्ब ९३ करोड १२ लाख ५० हजार सात सय ६७ रुपैयाँ पुग्न सफल भएको छ ।

गत साता भने दुई सय १९ कम्पनीको ६ लाख ९० हजार सात सय ३० पटकको कारोबारमा १५ करोड ६ लाख १२ हजार सात सय ३८ कित्ता सेयर खरिद-बिक्री भएका थिए । जसका आधारमा उक्त साता ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार दुई सय ९५ रुपैयाँको कारोबार भएको थियो । कारोबार खुलेको पाँच कार्यदिनमध्ये यो साता पहिलो र तेस्रो दिन नेप्से बढेको थियो भने दोस्रो, चौथो र पाँचौं दिन नेप्से घटेको थियो ।

जसमध्ये पहिलो दिन ५० दशमलव १३ अंकले बढेर २९ सय ६ दशमलव ८९ अंकमा पुग्न सफल भएको नेप्से अन्तिम कारोबार दिनसम्म आइपुग्दा दुई हजार नौ सय ४४ दशमलव ७८ अंकमा पुगेर रोकिएको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन सात दशमलव ८८ अंकले बढेर पाँच सय २० दशमलव ९९ अंकमा पुग्न सफल भएकामा अन्तिम दिनसम्म आइपुग्दा पाँच सय २७ दशमलव ८७ अंकमा पुगेर रोकिएको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरूमा नेपाल पुनर्बिमा कम्पनी, नेसनल हाइड्रो पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदि परेका छन् । सेयर संख्याका आधारमा नेसनल हाइड्रो पावर कम्पनी, नेपाल पुनर्बिमा कम्पनी आदि अगाडि परेका छन् । पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

यसैगरी सेयर सूचीकरणतर्फ भने यो साता लाइफ इन्स्योरेन्स कम्पनी, सीईडीबी हाइड्रो पावर कम्पनी, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थासहितका कम्पनीहरूको बोनस तथा साधारण सेयर सूचीकृत भएका छन् ।

प्रतिक्रिया