शनिबार, वैशाख ८, २०८१

वैद्य प्रकरणमा फरक मत !

नेपालखोज २०७८ जेठ २९ गते २०:४१

काठमाडौं । हुन त वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले हिजो प्रदेशसभामा बोलेको कुरा फिर्ता लिइसकेका छन् । बहुआलोचित भएको तथा आफ्नै पार्टी नेपाली कांग्रेसको निर्देशनसमेत आएपछि वैद्य व्यक्ति हिंसालाई बढावा दिने आफ्नो उत्तेजक बयानबाट पछाडि फर्कन बाध्य भएका हुन् । जीवनभर हिंसाको विरोधमा रहेका वैद्य आफ्नो क्षणिक आवेग र उत्तेजना प्रति पश्चाताप गर्नुपर्ने अवस्थामा पुगे । वैद्यको भनाइ, भाषा-शैली नमिलेको, ढंग नपुगेको थियो । यद्यपि सामाजिक सन्जालमा उनको भनाइले आँधीबेहेरी नै ल्यायो । यसबीच सूर्य थापा, महेश बस्नेत, गोकुल बास्कोटा प्रवृत्तिका नेताहरुले यसलाई उछालेर राजनीतिक फाइदा लिने भरपूर प्रयास पनि गरे तर सँगसँगै केही फरकमत पनि देखा परे । हेरौं केही फरकमत :

‘आगामी दिनमा गल्ती नगर्ने विषयमा प्रतिबद्धता जाहेर गरौं’
माननीय नरोत्तमको अभिव्यक्ति सबैलाई अप्रिय लाग्यो तर, सत्य पनि हो । नेपाली मनोविज्ञानलाई वाग्मती प्रदेशको रोस्ट्रमबाट बोलिएको विषयमा धेरैले आलोचना गरिरहे पनि तितोसत्य उजागर गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु ।
यसैले वहाँले न माफी माग्नु पर्दछ, न त पश्चाताप ! बरू हामी शासक भनिनेहरू नै प्रणाली ध्वस्त गर्ने विषयमा ख्याल गरौं, संविधान मिचेकोमा पश्चाताप गरौं ।
अदालतले बेठीक ठहर गरेको विषयमा सार्वजनिक रूपमा जनताहरूसँग माफी मागौं र आगामी दिनमा गल्ती नगर्ने विषयमा प्रतिबद्धता जाहेर गरौं । अतः अब जनताहरूका मनोविज्ञान बुझौं, सोअनुसारको व्यवहार र आचरण देखाऔं । जनताहरूका मन जितौं, गुमेको साख उठाऔं । कसैसँग बदलाको भाव नराखौं । यसैमा हामी सबैको कल्याण हुन्छ ।
मेटमणि चौधरी, केन्द्रीय सदस्य, नेकपा (एमाले)

‘अब गम्भीर भएर समीक्षा गर्ने पो हो कि ?’
सादगी-सन्त व्यक्तिको पर्याय हुन्- नरोत्तम वैद्य । आवेग र उत्तेजनाको एउटै अभिव्यक्तिकै आधारमा उनको विगतलाई नजर अन्दाज गरिदिनु , निश्चित रूपमा उनीमाथिको अन्याय हुन जान्छ ! भलै उनले आफ्नो अभिव्यक्ति फिर्ता लिइसकेको अवस्था छ, तर सन्त-सादगी व्यक्ति समेतले त्यस्तो अभिव्यक्ति दिँदै गर्दा हामीले पनि आफूलाई र आफूले अँगालेको मार्गतर्फ अब गम्भीर भएर समीक्षा गर्ने पो हो कि ?
दीपक गिरी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

‘परिस्थितिले साधुलाई पनि त्रिशूल उज्याउन बाध्य पार्छ भनेको यही हो’
नरोत्तम वैद्य मद्-मांस सेवन नगर्ने, भद्र, सरल अनि सहयोगी मेरा छिमेकी दाइ हुन् । उनले नाथुराम गोड्सेको उदाहरण किन दिए म आफैं चकित छु । तर ओलीको कृत्यले वैद्यजस्ता मान्छेलाई समेत यस्तो सोच्न बाध्य तुल्यायो भने मारमुङ्ग्रीमा रुचि राख्ने मान्छे के सोच्दै होलान् ? परिस्थितिले साधुलाई पनि त्रिशूल उज्याउन बाध्य पार्छ भनेको यही हो । अरिंगालहरु कुरा बुझ्दैनन् । दम्भ चढेको छ ।
राजेश मिश्र, पत्रकार (हाल : अमेरिका)

‘वैद्यजीको अभिव्यक्ति आपत्तिजनक तर सोचनीय छ’
नरोत्तम वैद्यको ‘नाथुराम गोड्से’वाला अभिव्यक्ति पक्कै समर्थनयोग्य त हैन, तर सोचनीयचाहिँ छ । किन वैद्यजस्ता सादगीपूर्ण व्यक्तित्वको मुखारविन्दुबाट यस्तो चरम आक्रोशित अनि हिंसा भावको अभिव्यक्ति आयो ? वैद्यबाट आवेगमा यस्तो अभिव्यक्ति आउन थालेको बेला ओली प्रवृत्तिबाट चरम आक्रोशित भएर रगत उम्लाएर बसिरहेको युवा पुस्तामा झन कस्तो भाव होला ? मित्र राजेश मिश्रले भने झैं, यसतर्फ अरिंगालहरु सचेत होऊन् । पक्कै हिंसा र प्रतिहिंसाका कुरासँग सहमत हुन सकिन्न, तर वैद्यजीको अभिव्यक्ति गहन विश्लेषण, अनुसन्धान र मननीयचाहिँ छ । परिपक्व नागरिकको मुखबाट यस्तो अभिव्यक्ति आउनुका पछाडिका कारण खोज्नुपर्छ, मुलुक गम्भीर संकटतर्फ धकेलिँदै छ ।
कुसुम भट्टराई, पत्रकार

‘चेतावनी स्वरुपको अभिव्यक्ति हो’
वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यको अभिव्यक्तिमाथिको टिप्पणी हेर्दा उनले गलत बोले भन्ने धेरैको आशय बुझिन्छ । वास्तवमा उनको त्यो अभिव्यक्ति भावावेशमा आएको भनाइ हो । जसरी तत्कालीन भारतमा धेरै राष्ट्रवादी हिन्दुहरूलाई यो लाग्यो कि महात्मा गान्धीका कारणले मुलुक पाकिस्तान र इन्डियामा विभक्त भयो र भारत हिन्दु राज्य नभएर धर्म निरपेक्ष राज्य बन्ने अवस्थामा आयो । त्यसरी नै नरोत्तमजीलाई पनि केपी ओलीको कारण मुलुक सिक्किमीकरणतिर अघि बढ्यो भन्ने लाग्यो र उनले यो चेतावनी स्वरूप दिएको अभिव्यक्ति हो न कि उनले साच्चिँनै केपी ओलीलाई मार्न खोजेका हुन् । यसलाई कानुनीभन्दा पनि राजनीतिक भाषाले बुझ्दा राम्रो हुन्छ ।
राजकुमार राई, नेता, नेपाली कांग्रेस

प्रतिक्रिया