शुक्रबार, वैशाख ७, २०८१

रोकिएको भेरोसेलको खोप आज र भोलि लगाइँदै

नेपालखोज २०७८ जेठ ३१ गते ७:०२

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा पुनः लगाइने भएको छ ।

जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर सुरु भएको खोप अभियान काठमाडौंमा स्थगित भएको थियो । दुई दिन खोप अभियान सञ्चालन भएपछि जेठ २७ गते काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै खोप अभियान रोकाएको जनाएको थियो ।

रोकिएको सोही खोप अभियान काठमाडौंमा आज र भोलि (जेठ ३१ र असार १ गते) लगाइने भएको हो । हिजो (आइतबार) सूचना जारी गर्दै महानगरपालिकाले ६०-६१ वर्ष उमेर समूहका नागरिक, भेरोसेलको पहिलो डोज लगाएका व्यक्ति, कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्साकर्मी, प्यारा मेडिक्स नर्सिङका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन अनुरोध गरिएको छ ।

यसअघि उक्त खोप जेठ २८ र २९ गते लगाइने कार्यक्रम थियो । तर, विशेष कारण देखाउँदै अभियान स्थगित गरिएको थियो । खोप अभियान बिहान १० देखि अपराह्‌ ४ बजेसम्म सञ्चालन हुने काठमाडौं महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरले विज्ञप्तिमार्फत जनाएका छन् ।

खोप वीर अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल मीनभवनमा लगाइने कार्यक्रम तय छ ।

प्रतिक्रिया