शनिबार, वैशाख १५, २०८१

बंगलादेशकी चर्चित नायिकाले प्रधानमन्त्रीसँग भनिन्- ममाथि बलात्कार र हत्याको प्रयास भयो, न्याय चाहियो

नेपालखोज २०७८ असार १ गते ९:१९

काठमाडौं । बंगलादेशी चलचित्रकी एक कलाकारले सोशल मिडियामा पोस्टमार्फत त्यहाँका कुनै व्यवसायीद्वारा आफ्नो बलात्कार तथा हत्याको प्रयास भएको आरोप लगाएपछि त्यसले त्यहाँ ठुलो चर्चा पाएको छ ।

फिल्म अभिनेत्री शमसुन्नहर स्मृति उर्फ पोरी मोनीले बंगलादेशी एक व्यापारीले बलात्कार गरेको र आफ्नो हत्या गर्ने प्रयास गरेको आरोपमा उजुरी गरेकी थिइन् ।

उक्त घटना गत बिहीवार ढाकाको एक नाइट क्लबमा भएको थियो । ती अभिनेत्रीले सोसियल मिडियामा कसैको नाम उल्लेख नगरे पनि स्थानीय सञ्चार माध्यमहरुसँग भने व्यवसायी नासिर यू मोहम्मदको नाम लिएको बताइन्छ ।

अभिनेत्री पोरी मोनीले बलात्कार, हत्या प्रयासको आरोप लगाएर उजुरी दिएपछि त्यहाँको प्रहरीले सोमबार बंगलादेशी ती व्यापारीलाई पक्राउ गरेको छ ।

प्रधानमन्त्रीसँग न्याय मागिन्

नायिकाले आफ्नो पोस्टमा प्रधानमन्त्री शेख हसीनाबाट न्यायको अपेक्षासमेत गरेकी छन् । यो समाचार सार्वजनिक भएपछि ढाकाको मनोरञ्जन संसार क्षुब्ध देखिएको छ भने प्रशंसकहरुसँगै थुप्रै कलाकारले नायिकाको पक्षमा आवाज उठाएका छन् ।

ती नायिकाले बंगलादेशकी प्रधानमन्त्री हसीनालाई आमा भनेर सम्बोधन गर्दै आफुलाई कानुनी सहयोग नमिलेको उल्लेख गरेकी छन् । उनले भनेकी छन् ‘बितेका ४ दिनमा मैले कतैबाट न्याय पाइन, अब म कहाँ जाउँ, म एउटी महिला हुँ, कलाकार हुँ तर त्यसभन्दा पहिले म मानव हुँ, म आफुमाथिको अन्याय चुपचाप सहन सक्दिन ।’

प्रतिक्रिया