शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रिय महिला भलिबलको प्रशिक्षण आजदेखि

नेपालखोज २०७८ असार १ गते ११:२८
फाइल फाेटाे

काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि सुरु हुनुपर्ने प्रशिक्षण स्थगित गरिएको थियो ।

प्रशिक्षणका लागि टोलीका अधिककांश खेलाडी काठमाडौँ आइसकेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् । बन्द प्रशिक्षणका लागि टोलीमा परेका केही खेलाडी काठमाडौँ आउने क्रममा रहेका छन् । सङ्घले गत चैतमा सम्पन्न एनभीए क्लब भलिबल लिगबाट ३० खेलाडी छनोट गरी प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेको थियो ।

जेठ १४ गते बसेको सङ्घको बैठकले जगदिशप्रसाद भट्टलाई प्रशिक्षणको जिम्मेवारी सुम्पेको हो । सङ्घका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक भट्ट र प्रज्वलबहादुर सिंह सम्मिलित छनोट समितिले खेलाडी छनोट गरेको हो । आगामी भदौ १३ देखि २० गतेसम्म फिलिपिन्समा आयोजना हुने एसियन महिला भलिबल च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण थालिएको हो ।

बन्द प्रशिक्षणका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट आठ, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लबबाट सात सात तथा भरतपुर मेट्रोबाट एउटा खेलाडी छनोटमा परेका छन् ।

आर्मीबाट सुनिता खड्का, सोफिया पुन, शान्ति थारु, जानकी भण्डारी, सरस्वती जैसी, कृपा अधिकारी, संगम महतो र सृष्टि खड्का, पुलिसबाट कमला पुन, उषा भण्डारी, पुनम चन्द, कामना बिष्ट, लक्ष्मी चन्द, मनिषा चौधरी र शान्तिकला तामाङ, एपीएफबाट सरस्वती चौधरी, निरुता ठगुन्ना, हिरा केसी, उषाकुमारी बिष्ट, पुजा चौधरी, रेश्मा भण्डारी र कविता भट्ट, न्यू डायमण्ड स्पोर्ट्स क्लबबाट प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, बाल्मिका आचार्य, झरना श्रेष्ठ, रिया कुँवर र रिमा कुवँर तथा भरतपुरबाट सरस्वती कट्टेललाई छनोट गरिएको छ ।

यस्तै वैकल्पिक खेलाडीका रूपमा भरतपुरकी आरती सुवेदी र निशा चौधरी, डायमण्डकी प्रगति नाथ, ढोरपाटनकी पुष्पा शाही र पुलिसकी पुष्पा चौधरी रहेकी छन् । सङ्घले महिला टोलीको व्यवस्थापकमा उपाध्यक्ष निरोज मास्केलाई चयन गरेको छ । टोलीको ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठले पाएकी छन् ।

प्रतिक्रिया