चौबीस घण्टामा कुन ठाउँमा कति वर्षा ? ३ दिनको पूर्वानुमान यस्तो !
काठमाडौं । पछिल्लो चौबीस घण्टामा स्याङ्जा जिल्लाको चापकोट केन्द्रमा सबैभन्दा बढी वर्षा भएको छ । देशभरका २ सय ६ वर्षा मापन केन्द्रहरुमा मापन गरिएको चौबीस घण्टाको वर्षाको विवरणअनुसार १ सय ९३ वटा केन्द्रमा वर्षा भएको छ । जसमा सबैभन्दा बढी स्याङ्जामा २ सय १४ दशमलव शून्य मिलिमिटर वर्षा भएको छ ।
मापन गरिएका केन्द्रहरु मध्ये १४३ वटा केन्द्रमा १० मिलिमिटर भन्दा बढी, ११९ वटा केन्द्रमा २५ मिलिमिटर भन्दा बढी, ७९ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, २६ वटा केन्द्रमा १ सय मिलिमिटरभन्दा बढी, ४ वटा केन्द्रमा १ सय ५० मिलिमिटर भन्दा बढी र १ वटा केन्द्रमा २ सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ ।
त्यस्तै आज देशको पश्चिम क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको जलवायु परिवर्तन तथा विपत् व्यवस्थापन विज्ञ धर्मराज उप्रेतीले बताएका छन् । ठुला तथा मझौला नदीहरुमा आकस्मिक बाढी तथा कमजोर भू-भागमा पहिरोको जोखिम अत्याधिक रहेको हुँदा आवश्यक सावधानी अपनाउन उप्रेतीले आग्रह गरेका छन् । त्यस्तै आज र भोलि (असार १ र २ गते) देशको पश्चिम क्षेत्र खासगरी सुदूरपशिम प्रदेश, कर्णाली, गण्डकी, वाग्मती प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेकाे विज्ञ उप्रेतीले बताए ।
मनसुन थप सक्रिय, तीन दिन लगातार वर्षा
जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले मनसुन थप सक्रिय भएको जनाएको छ । मौसम थप सक्रिय भएसँगै देशका केही ठाउँमा ठूलो पानी परिरहेको महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बुलेटिन जारी गर्दै अहिले भारतको झारखन्डमा रहेको न्यूनचापीय क्षेत्र र मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको जनाएको हो ।
यसका कारण अहिले दिउँसो र राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यमखालको पानी पर्ने र गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केही ठाउँमा भने ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । यी प्रदेशका पहाडी ठाउँमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मौसमविद्ले अबको तीन दिन लगातार पानी पर्ने पूर्वानुमान गरेका छन् ।
प्रतिक्रिया