शुक्रबार, वैशाख १४, २०८१

गण्डकीका मुख्यमन्त्री पोखरेलले भने- पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय भएको छैन

जिल्ला सभापतिहरूको माग- स्वास्थ्यलाई प्राथमिकता देऊ

नेपालखोज २०७८ असार १ गते १६:४४

काठमाडौं । गण्डकी प्रदेशअन्तर्गतका आठवटा जिल्लाका नेपाली कांग्रेस सभापतिहरुले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन प्रदेश सरकारसँग माग गरेका छन् ।

गण्डकी प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरूले सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सामूहिक भेटेर त्यस्तो माग गरेका हुन् । नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार अहिलेको मुख्य प्राथमिकता कोभिडविरुद्वको खोप भएको हुँदा यसलाई प्राथमिकतामा राख्न जिल्ला सभापतिहरूले अनुरोध गरेका हुन् । उनले भने, ‘खोपसँगै कोभिड प्रभावित क्षेत्रलाई महत्त्व दिन सभापतिहरूले अनुरोध गर्नुभएको छ ।’

भेटका क्रममा सभापतिहरुले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णयप्रति ध्यानाकर्षण गराउँदा मुख्यमन्त्री पोखरेलले त्यस विषयमा कुनै निर्णय नभएको स्पष्ट पारे । जिल्ला सभापति र सचिवहरूले जनअपेक्षाअनुसार सरकार अघि बढ्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

भेटमा कास्की कांग्रेसका सभापति कृष्ण केसीले सुशासन, विपत् व्यवस्थापन, कोरोना सङ्क्रमित, उनीहरूको परिवार र प्रभावित क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन आग्रह गरे । तनहुँका सभापति वैकुण्ठ न्यौपानेले संविधान, संघीयता र विकासलाई मुख्य प्राथमिकता दिन आग्रह गरे । लमजुङका सभापति भेषबहादुर पौडेल, म्याग्दीका सभापति खमवीर गर्बुजा, स्याङ्जाका सभापति कुमार राना, बाग्लुङका सभापति दीपेन्द्रबहादुर थापा, नवलपुरका सभापति विष्णु लामिछाने र गोरखाका सचिव नन्दु न्यौपानेले कोरोना महामारी अहिलेको प्रमुख समस्या बनेको बताउँदै यसको रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया