शुक्रबार, चैत १६, २०८०

वाग्मती प्रदेशमा ५७ अर्ब ७२ करोडको बजेट विनियोजन

नेपालखोज २०७८ असार १ गते १९:२१

मकवानपुर । वाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड नौ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सभामा मङ्गलवार आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ५७ अर्ब रुपैयाँभन्दा धेरैको बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजन गरिएको मध्ये चालुतर्फ २६ अर्ब एक करोड ६६ लाख २३ हजार रुपैयाँ बजेट छुट्याइएको छ । यसमा पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख चार हजार र वित्तीय व्यवस्थातर्फ दुई अर्ब रुपैयाँ विनियोजन गरिएको मन्त्री ढुंगेलले बताए ।

कुल विनियोजनमा चालुतर्फ ४५ प्रतिशत, पुँजीगततर्फ ५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ चार प्रतिशत रहेको उनले जानकारी दिए। आउँदो आर्थिक वर्षका लागि अनुमान गरिएका खर्च बेहोर्ने स्रोतमध्ये कर–राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार रुपैयाँ, सङ्घीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानमा प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ, विविध प्राप्ति एक अर्ब पाँच करोड नौ लाख ९६ हजार रुपैयाँ र चालु आर्थिक वर्षको राजस्व बचतबाट नौ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको मन्त्री ढुंगेलले बताए ।

वाग्मती प्रदेशका पालिकामा समपूरक अनुदानमा दुई अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै प्रदेशका नागरिकलाई खोप लगाउन दुई अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । कोभिड महामारीविरुद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्याउन प्रदेश प्रमुख कोभिड– १९ खोप कार्यक्रम मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशभित्रका सबै नागरिकलाई खोप प्रदान गर्न दुई अर्ब रुपैयाँ बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए।

वाग्मती प्रदेशमा प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरिएको छ । तर भौतिक पूर्वाधार, स्वास्थ्य पूर्वाधार र उपकरण खरिदमा दुई अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

वाग्मती प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमणका कारण आमाबाबु दुवै गुमाएका बालबालिकालाई पालिकासँगको सहकार्यमा मासिक तीन हजार रुपैयाँका दरले शैक्षिक तथा सामाजिक भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ । अन्य कारणबाट आमाबाबु दुवै गुमाएका बालबालिकालाई मासिक दुई हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताए ।

प्रतिक्रिया