शुक्रबार, चैत १६, २०८०

आन्तरिक पर्यटनलाई लक्षित गरेर ’पे नाउ, गो लेटर’ अफर

नेपालखोज २०७८ असार २ गते ११:५०


काठमाडौं । जंगल सफारी लज सौराहा चितवनले आन्तरिक पर्यटनलाई लक्षित गरेर ’पे नाउ, गो लेटर’ अफर ल्याएको छ । योजना अन्तर्गत पर्यटकले तीन रातको कोठाको मूल्य मात्र चार हजार रुपैयाँमा पाउनेछन् ।

कोभिड-१९का कारण संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्न होटेलले आकर्षक योजना ल्याएको होटेलका संचालक सुमन घिमिरेले बताए ।

‘कोभिडका कारण पर्यटन क्षेत्र तहसनहस भएको छ । यो क्षेत्रलाई उकास्नका लागि जसले जति सक्छ त्यसरी नै योगदान दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यो योजना ल्याएका हौ,’ उनले भने ।

उनका अनुसार होटेलको कोठामा ६२ प्रतिशत छुट दिइएको छ । कोठामा दुई वयस्क र एक बच्चा बस्न पाउनेछन् । यो योजनामा सहभागी हुन पर्यटकहरुले असार महिनाभरी प्याकेज खरिद गर्नुपर्ने हुन्छ ।

आफूले खरिद गरेको प्याकेज मितिको १ महिना पछि होटेलमा आएर बस्न सकिने उनले बताए । योजना अन्तर्गत पर्यटकहरुले २०७८ चैत २८ गतेसम्म प्रयोग गरिसक्नु पर्ने छ ।

योजनामा एक हजार जना सहभाागी गराउने घिमिरेले बताए । योजनामा ब्रेकफाष्ट उपलब्ध छैन र ग्रुप बुकिङको लागि यो योजना लागु हुने छैन ।

उनका अनुसार पैसा तिरेका पर्यटकले १५ दिन अगावै होटेलमा कोठा बुक गर्नुपर्नेछ । योजना नेपालमा रहेका एक्स प्याटसहरु पनि सहभागी हुन पाउने उनले बताए ।

प्रतिक्रिया