शनिबार, जेठ ५, २०८१

उद्योगी तथा व्यवसायीलाई खोप सुविधा उपलब्ध गराइदिन चेम्बरको आग्रह

नेपालखोज २०७८ असार २ गते १६:२०

काठमाडौं । नेपाल चेम्बर अफ कर्मसले समस्त उद्योगी तथा व्यवसायीलाई खोप सुविधा उपलब्ध गराइदिन आग्रह गरेको छ । चेम्बरले आज (बुधबार) विज्ञप्ति जारी गर्दै सरकारसमक्ष यस्तो आग्रह गरेको हो ।

चेम्बरले विज्ञप्तिमार्फत भनेको छ, ‘विश्वव्यापी महामारीका रुपमा फैलिएको दोस्रो चरणको नयाँ भेरियण्टको कोरोना भाइरस (कोभिड-१९) बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको छ । नेपालजस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसको प्रत्यक्ष प्रभाव निजी क्षेत्रमा समेत परेको छ । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मबल वृद्धि भए मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजस्वमा योगदान पुग्न जाने हुन्छ ।’

नयाँ भेरियन्टको कोभिड-१९ को दोस्रो चरणको महामारीले समस्त उद्योगी तथा व्यवसायीहरुलाई आक्रान्त तुल्याएको प्रति चेम्बरले चिन्ता जनाएको छ । समयमै कोरोनाविरुद्धको खोप उपलब्ध नभएकाले अग्रपंक्तीमा कार्यरत समस्त व्यवसायीक क्षेत्रको आत्मबलमा ह्रास आएको चेम्बरको विज्ञप्तिमा छ । ‘अहिले मुलुकमा लकडाउन भई अधिकांश व्यवसायहरु बन्द अवस्थामा रहेका छन् भने अर्को तर्फ कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध नभएकाले यसबाट उत्पन्न विषम् परिस्थितिका कारण उद्योग-व्यवसाय सञ्‍चालन गर्नसमेत चुनौतीपूर्ण अवस्था सिर्जना हुन गएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया