असार २५ गतेभित्र कर बुझाइ सक्न सरकारको निर्देशन

काठमाडौं । सरकारले असार २५ गतेभित्र कर बुझाइ सक्न व्यवसायीहरूलाई निर्देशन दिएको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको छ ।
सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएर सरकारलाई कर उठाउने बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले आज सूचना जारी गर्दै कर बुझाउन ताकेता गरेको हो ।
विभागले बैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा कुनै जरिबाना नलाग्ने सूचनामा उल्लेख गरेको छ । बैशाख महिनाको भ्याट विवरण, आयकर, अन्तःशुल्क र गैरकर शीर्षकका कर तिर्ने म्याद पनि असार २५ गते नै तोकिएको छ । २५ गतेसम्म कर नतिरे जरिबाना लाग्ने विभागले जनाएको छ ।
यसअघि सर्वोच्च अदालतले निषेधाज्ञाभर कर उठाउने सूचना ननिकाल्न सरकारको नाममा अन्तरिम आदेश दिएकोमा हिजो भने कर उठाउन सूचना तोक्न सक्ने गरी आदेश दिएको थियो ।

प्रतिक्रिया