बिहीबार, वैशाख १३, २०८१

गण्डकी प्रदेशसभा बैठक बिहान ११ बजे, विश्वासको मत लिँदै मुख्यमन्त्री

नेपालखोज २०७८ असार ४ गते ७:५९

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् । आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।

संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिन लागेका हुन् ।

५९ सांसद रहेको प्रदेश सभामा मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ ।

मुख्यमन्त्री बनेकै दिन मन्त्रिपरिषद् गठन गरेका पोखरेलले हालसम्म मन्त्रीहरूको कार्य विभाजन गरेका छैनन् । मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्री परिषद् गठन गरेका उनले आफूबाहेक अन्य सबै मन्त्रीलाई विनाविभागीयमा राखेका छन् । अब विश्वासको मत लिएपछि मात्र मन्त्रीहरूको कार्य विभाजन गर्ने उनको तयारी छ ।

प्रतिक्रिया