गण्डकीमा पोखरेलले पाए विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेश सभाका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । आज अपराह्न प्रदेश सभामा भएको मतदानमा विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ३१ मत र विपक्षमा २७ मत खसेको हो । कुल ५९ सदस्यीय प्रदेश सभामा ५८ मत खसेको थियो ।
सभामुख नेत्रनाथ अधिकारीले मत परिणामसँगै विश्वासको मत प्राप्त भएको घोषणा गरे । मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले एक सातामै विश्वासको मत लिएका छन् ।
त्यसअघि मुख्यमन्त्री पोखरेलले विश्वासको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले आफूलाई विश्वासको मत प्रदान गर्न प्रदेशसभा सदस्यहरूसँग आग्रह गरेका थिए ।
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका पोखरेल नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र गरी ३१ सांसदको समर्थमा मुख्यमन्त्री बनेका थिए । पोखरेल संविधानको धारा १६८ (५) बमोजिम जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया