काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि हुने

काठमाडाैं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन गरिएको छ ।
प्रस्तावित नीति तथा कार्यक्रमको अध्ययनका लागि महानगरपालिकाका उपप्रमुखसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले दुई दिनको समय माग गरेपछि शुक्रबारदेखि पुनः सञ्चालन हुनुपर्ने बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो ।
बिहीबार नवौं नगरसभाको पहिलो बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्ताव गरेका थिए । ‘बिहीबार बैठकमा नेपाली कांग्रेसका तर्फबाट उपप्रमुखलगायत धेरैजसो साथीहरु अनुपस्थित हुनुभयो’, प्रमुख शाक्यले भने, ‘सबैको उपस्थितिमा छलफल गरेर सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम पारित गर्ने विगतको परम्पराअनुसार बैठक आइतबारका लागि सारिएको हो ।’
प्रमुख शाक्यले यही असार १० गते बजेट ल्याउनै पर्ने कानूनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली कांग्रेसतर्फका जनप्रतिनिधिसँग आइतबार छलफल गरिने जानकारी दिए । नगरसभामा पेस भएको नीति तथा कार्यक्रमलाई अझ परिपक्व बनाउन गहकिलो सुझाव आउने अपेक्षा लिएको पनि प्रमुख शाक्यले बताए ।

प्रतिक्रिया