सोमबार, वैशाख २९, २०८२

लकडाउन अवधिमा पाँच हजार एक सय परिवारलाई सहुलियतमा खाद्यान्न उपलब्ध

नेपालखोज २०७८ असार ६ गते १८:४५

काठमाडौं । लकडाउन अवधिमा पाँच हजार एक सय परिवारलाई सहुलियतमा खाद्यान्न उपलब्ध गराएको खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड वाग्मती प्रदेश कार्यालयले जनाएको छ ।

आइतबार संचारकर्मीहरुसँग कुरा गर्दै खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड वाग्मती प्रदेश प्रमुख ज्ञानु थापाले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यको बुँदा नं. ५५ मा उल्लेख भए बमोजिम उपभोक्तालाई २० प्रतिशत छुटमा खाद्यान्न उपलब्ध गराउने निर्णय भएको र सो निर्णय अनुसार जेठ २१ गतेदेखि असार ४ गतेसम्म पाँच हजार एक सय परिवारलाई २० प्रतिशत सहुलियतमा खाद्यान्न विक्रि गरेको बताए ।

हालसम्म सहुलियत दरमा १४ सय ५ क्वीन्टल चामल, ३० क्विन्टल सिमी, २२ क्वीन्टल गहुँ उपलब्ध गराइएको उहाँले बताउनुभयो । कम्पनीले यस अवधिमा ८७ लाख २४ हजार ३२५ रुपैयाँ रकम बराबरको खाद्यान्न विक्रि गरेको पनि उनले जानकारी दिए ।

कम्पनीले काठमाडौं उपत्यकाको चक्रपथ सेरोफेरोको आसपास सम्म खाद्यान्न सामग्रीको होम डेलिभरी पनि गर्दै आएको उनले जानकारी दिए । होम डेलिभरी सेवामा भने छुट नदिइने उनले स्पष्ट पारे । खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले गत मंसिरदेखि चैत्रसम्म करिब २ लाख ७७ हजार क्वीन्टल धान किसानसँग किनेको र सोही धानलाई कुटी चामल विभिन्न दुर्गम जिल्लामा पुर्‍याउनेदेखि काठमाडौंमा विक्रि वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया