सडक नहुँदा हेलम्बुमा राहत पुर्‍याउन समस्या

नेपालखोज २०७८ असार ६ गते १९:२७

काठमाडौं । असार १ गतेको बाढीले सबैभन्दा धेरै क्षती पुर्‍याएको सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकामा राहत लैजान समस्या भएको छ । मेलम्ची नगरपालिका केही ठाँउ र हेलम्बुका अधिकांश स्थानमा नदीले सडक कटान गरेका कारण स्थल मार्गबाट राहत सामग्री लैजान समस्या भएको हो ।

बाढीले मेलम्ची नगरपालिकाको सिमखेत भन्ने स्थानमा सडक कटान गरेको छ । सो स्थानमा आजबाट मात्रै सडक सुचारु भएको छ । सडक नबन्दा हेलम्बु गाँउपालिकाको सिमानासम्म पनि सडकमार्गबाट राहत लैजान सकिएको थिएन् । सो स्थानमा सडक सुचारु हुँदा हेलम्बु गाँउपालिकाको चनौटेसम्म यातायात सञ्चालन गर्न सकिन्छ । चनौटेमा रहेको रातोपुल पनि जोखीमयुक्त भएपनि यातायात भने सञ्चालन भइरहेको छ । हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चनौटेको पुललाई बचाउन सके राहत र पुनःस्थापनाको काममा सजिलो हुने बताए ।

जिल्ला विपत् व्यवस्थापन समितिले राहत वितरणमा एकरुपता ल्याउनको लागि भन्दै एकद्वार निति लागु गरेको छ । जसअन्तर्गत दाताले ल्याएको सबै राहत सामाग्री मेलम्चीस्थित इन्द्रेश्वरी माद्यामिक विद्यालयमा गोदाम गरीएको छ । सो स्थानमा गोदाम गरिएको सामाग्री पिडितको हातसम्म पुग्न सकेको छैन् । हेलम्बु गाँउपालिकामा लैजान भनी दाताले ल्याएको राहत सामग्रीसमेत मेलम्चीमा नै रोक्ने गरिएको छ । हेलम्बुमा भने हेलिकोप्टरबाट पुर्‍यार्ईएका सामग्रीको मात्रै भर पर्नुपर्दा पिडितले आधारभुत आवश्यकताका सामग्री समेत पाउन सकेका छैनन् ।

हेलम्बु गाँउपालिका भित्रका ६ वटा झोलुङ्गे पुल र ३ वटा पक्कि पुल पुर्ण क्षति भएको छ । बाँकी रहेको एउटा रातोपुल समेत उच्च जोखिममा छ । बाढीले हेलम्बु गाँउपालिका सडक र सञ्चार सञ्जालबाट टाढीएको छ । नेपाल टेलीकमको मोबाइल सेवा बन्द जस्तै छ भने एनसेल चलाउने ग्राहकले समेत मोबाइल चार्ज गर्न पाएका छैनन् ।

विद्युत् आपुर्ती बन्द भएकोले सोलार बत्ती अहिले त्यहाँको प्रमख आवश्यकता भएको छ । नेपाली सेनाले हेलिकोप्टरमार्फत केही टेन्ट लगेर टाँगेको भएपनि त्यो पर्याप्त हुन सकिरहेको छैन् । मेलम्चीमा राहतको थुप्रो लागेको भएपनि हेलम्बुमा भने आधारभुत आवस्यकता समेत पुरा हुन सकेको छैन् ।

बाढीले अझै कटान गर्न छाडेको छैन । यस्तो अवस्थामा सडकमार्ग सुचारु गर्न विभिन्न प्रविधिको प्रयोग गरी बस्तीहरुलाई सडक सञ्जालसँग जोडीराख्न सकिएमात्र पिडितको आधारभुत आवश्यकता पुरा गर्न सकिन्छ ।

प्रतिक्रिया