सोमबार, वैशाख २९, २०८२

निर्वाचनका क्रममा मात्रै युवाहरुलाई राजनीतिक रुपमा प्रयोग गर्ने प्रवृति बढ्यो

नेपालखोज २०७८ असार ६ गते १९:४२

काठमाडौं । सरकारका नीति तथा कार्यक्रम युवा मैत्री हुन नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । स्थानिय सरकार नीति, कार्यक्रम तथा बजेट निर्माणका क्रममा रहेकै बेला युवा संस्था सञ्जाल (आयोन) ले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रमका सहभागीले युवा लक्षित कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

स्थानिय सरकारका नीति, कार्यक्रम तथा निर्वाचनमा युवा सहभागीता विषयक कार्यक्रममा सहभागी अधिकांशले कोरोना महामारीले युवा बेरोजगारी बढ्दै गएको तर सरकारका कार्यक्रम औपचारिकतामुखी मात्रै भएको बताएका छन् ।

तीन तहकै सरकारले युवाको आवश्यकतालाई सम्बोधन गर्न नसकेको, युवाका लागि ल्याइने कार्यक्रम प्रतिफलमुखी नभएको, नीति निर्माणमा युवाको भूमिका स्वीकार नगरिएकोप्रति सम्वेदनशील हुन सहभागीले आग्रह गरेका छन् । निर्वाचनका क्रममा युवाहरु राजनीतिकरुपमा प्रयोग मात्रै गर्ने प्रवृति समस्याका रुपमा रहेको सहभागीले औल्याएका छन् ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकिय प्रमुख डाक्टर बाबुराम ढुंगानाले बदलिदो परिवेश अनुसारका युवाको सीप र क्षमता विकासका ध्यानदिनु पर्ने बताए । निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल धमलाले निर्वाचन र निर्वाचन प्रक्रियामा युवाको पहुँच बढाउने गरी सबै पक्षबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सूर्य विनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले स्थानीय सरकारमार्फत् आफ्ना माग सम्बोधन गराउन युवा आफै पनि जागरुक र सचेत हुनुपर्ने बताइन् । युवाहरुको उल्लेख्य सहभागीता रहेको कार्यक्रममा निर्वाचन र स्थानीय सरकारका कार्यक्रम, बजेटमा यृुवा तथा मिडियामा युवाका सवाल बारे व्यापक छलफल भएको थियो ।

प्रतिक्रिया