मंगलबार, मंसिर २५, २०८१

लगातारको वर्षाका कारण सर्लाहीको उत्तरी क्षेत्रका अधिकांश सडक अवरुद्ध

नेपालखोज २०७८ असार ७ गते १:००
साँकेतिक तस्विर

सर्लाही । सर्लाहीको उत्तरी क्षेत्रका अधिकांश सडक लगातारको वर्षासँगै अवरुद्ध भएका छन् । केही दिनयता पानी पर्ने क्रम बढेसँगै खोलाको बगर र चुरे क्षेत्रका गोरेटो बाटाहरू अवरुद्ध भएका छन् ।

सडक नपुगेको चुरे क्षेत्रका नागरिक हरेक वर्षको यो समयमा केही महिना कष्टपूर्ण दिनचर्या बिताउन बाध्य हुँदै आएका छन् । पूर्वपश्चिम लोकमार्गमा पर्ने लालबन्दी, हरिवन, बाग्मती र ईश्वरपुर नगरपालिकाका उत्तरी चुरे क्षेत्रमा पर्ने बस्तीमा सडक अवरुद्ध हुँदा आवतजावत गर्न समस्या हुने लालबन्दी नगरपालिका १४ का वडाध्यक्ष सुबाईसिंह ब्लोनले बताए ।

ईश्वरपुर नगरपालिका १२ मा पर्ने पिपलदमार, गुइडुङ, छोड्के, लामिदमार, अड्डी, लालबन्दी नगरपालिका १५ को शिर कालिन्जोर, तीनतले, भित्रीखोला, लालबन्दी नगरपालिका १४ नारायणखोला, वडा नं. १२ र १३ का चुरे बस्ती, हरिवन नगरपालिका १ र ८ का चुरे बस्ती तथा बागमती नगरपालिका १ र १२ मा पर्ने चुरे क्षेत्रका बस्तीमा जाने सडक लगातारको वर्षाले बिगारेको स्थानीय बासिले बताएका छन् ।

खोलाको बगर एवम चुरे पहाडका गोरेटो बाटो ठाउँ–ठाउँमा बिग्रँदा पानी पँधेरो गर्नदेखि बिरामी परेर औषधोपचारका लागि अस्पतालसम्म जान समस्या हुन थालेको लालबन्दी नगरपालिका १४ का चन्द्र घिसिङले बताए ।

खोलामा बाढी आउँदा चुरे क्षेत्रका नागरिकलाई वर्षायाममा एकबाट अर्को बस्तीसम्म जान समेत समस्या हुने गरेको छ । हिउँद लागेपछि भने चुरेका गोरेटो बाटो केही स्थानीय तहले र केही गाउँले आफै र खोलाको बगरको बाटो यातायात व्यवसायी मिलेर मर्मत गरी हिँडडुल गर्न मिल्ने र हल्का सवारी साधन चल्न सक्ने बनाउने गर्दछन् ।

जेठ महिनाको अन्तिम साता यता निरन्तर वर्षा भइरहेकोले खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बस्तीमा बाढी पस्ने डरले नागरिकहरु त्रसित भएका छन् । अघिल्लो वर्षको बर्खामा बागमती, लखन्देही, फूलजोर खोलाको बाढीले सयौं बिगाहा खेतीयोग्य जमिन कटान गरेको थियो। वर्षायाममा बाढीका कारण आइपर्ने विपद् व्यवस्थापनमा कुनै पनि स्थानीय निकायले प्रयास समेत नगरेका स्थानीयबासीको गुनासो छ ।

प्रतिक्रिया