शनिबार, जेठ ५, २०८१

१० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक (पोडकास्टसहित)

नेपालखोज २०७८ असार ७ गते १३:०४

काठमाडौं । नेपाल राष्ट्र बैकले सरकारको लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सरकारले चालुु आर्थिक वर्षमा दुुई खर्ब २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।

जस अनुसार पहिलो चौमासमा ५७ अर्ब र दोस्रो चौमासमा ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालुु आवको तेस्रो चौमास अर्थात यही असार मसान्तसम्ममा थप एक खर्ब १२ अर्ब रुपैयाँ ऋण उठाउने छ ।

सोही अनुरुपको आन्तरिक ऋणको लागि नै भोलि मंगलबार छ वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘च’ नामक मौद्रिक उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर-बैक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले भोलि मंगलबार अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार निष्काशन मिती २०७८ असार नौ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि बिसं २०८४ असार नौ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने छ ।

राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ । इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीकाेरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्याइएकाे छ ।

राष्ट्र बैकका अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएकाे रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।

खरीद गर्न पाउने सीमा निम्नतम ५० हजार र अधिकतममा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।

राष्ट्र बैकका अनुसार ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यि बाहेकका वाणिज्य बैंक, विकास बंैक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्र्धीकोरुपमा भाग लिन पाउने छैनन् ।

प्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडिदुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम मात्र उल्लेख गर्नु पर्नेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेन्ज मार्फत हुुने छ ।

प्रतिक्रिया