‘नक्खु जेलब्रेक’ का योद्धा रिखाम मगरको निधन
माधव नेपालले भने- नक्खु जेल ब्रेकका एक योद्धा जीवन मगरको निधनले स्तब्ध बनायो, नेपालको कम्युनिस्ट आन्दोलनमा तपाईंको नाम विशेष छ ।

काठमाडौं । नेपाली कम्न्युनिस्ट आन्दोलनको इतिहासका एक योद्धाको निधन भएको छ । झापा आन्दोलनका क्रममा २०२९ सालमा पक्राउ परेका जैतुन रिखाम मगर (जीवन) को सोमबार उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।
कान्तिपुर दैनिकमा कार्यरत जैतुन रिखाम मगर उर्फ जीवन मगरको ६३ वर्षको उमेरमा बिहीबार घरको शौचालयमा लडेर घाइते भएका थिए । चिकित्सकले मस्तिष्कमा गम्भीर चोट लागेका कारण मृत्यु भएको बताएका छन् ।
झापा जिल्लाको गरामनीका स्थायी बासिन्दा उनी कान्तिपुर दैनिकमा स्थापनाकालदेखि नै कार्यरत थिए । राजनीतिमा समेत संलग्न रहेका उनी झापा आन्दोलनका क्रममा २०२९ सालमा पक्राउ परेका समयमा १६ वर्षभन्दा कम उमेर भएकाले १० वर्षको मात्रै जेल सजाय तोकिएको थियो ।
सीपी मैनालीसहित नक्खु जेलबाट सुरुङ खनेर निस्कने १५ जनामध्ये उनी पनि एक थिए । मगरका श्रीमती र दुई छोरी छन् ।
पूर्वाप्रधानमन्त्री माधव कुमार नेपालले पनि मगरको निधनप्रति समवेदना व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘नक्खुजेल ब्रेक’का एक योद्धा जीवन मगरको निधनले स्तब्ध बनायो, नेपालको कम्युनिष्ट आन्दोलनमा तपाईंको नाम विशेष छ । कमरेड जीवन मगरप्रति हार्दिक श्रद्धाञ्जली ! परिवारजनप्रति गहिरो समवेदना !!

प्रतिक्रिया