बाढीपीडितलाई काठमाडाैं महानगरको सहयोग (भिडियो रिपोर्ट)

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ ।
काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग गरेको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार सिन्धुपाल्चोक पुगेर सो सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै प्रमुख शाक्यले विपतको बेलामा आफूहरुले थोरै भएपनि सहयोग गरेको बताए ।
धेरै क्षति भएको भएपनि माया र आत्मियताको कुनै मूल्य नहुने भन्दै उनले सिन्धुपाल्चोकको विपतिमा काठमाडौं महानगरपालिकाको साथ रहेको र आगामी दिनमा पनि साथमै रहने बताए ।
पानी पर्ने सिजन अझै आउन बाँकी रहेको उल्लेख गर्दै उनले आगामी दिनमा थप पूर्वाधारको क्षति हुन नदिन ध्यान दिनपनि आग्रह गरे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री तामाङले विपतग्रस्त पालिकाहरुले विपत व्यवस्थापनका लागि छुट्टै कोष खडा गर्न अनुरोध गरे । विगतमा विपतिहरुमा उठ्ने गरेको पैसा कानुनी जटिलताका कारण सम्बन्धित पीडितको हातमा नपरेको भन्दै उनले यस विपतीमा भने सबै पालिकाहरुले आ-आफ्नो कोष सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
देश विदेशबाट सहयोग गर्न चाहानेले सोही कोषमा जम्मा गर्न पनि उहाँले आह्वान गरे । उनले थप क्षति हुन नदिनका लागि पुर्ननिर्माणको काममा लाग्ने पनि बताए ।
मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले समयमै नगरबासीलाई सचेत हुन सुचना प्रवाह गरेका कारण मानविय क्षति कम भएको उल्लेख गरे । विकास निर्माणको कामको संरचना क्षति हुँदा झनै समस्यामा परेको उनको भनाइ छ ।
हाल अर्बौको क्षति भएको भन्दै अझै नदीले कटान गरिरहेकाले त्यसलाई न्युनिकरणको लागि प्रयास गरिरहेको सिन्धुपाल्चोकमा असार १ गतेको बाढीले निकै क्षति पु¥याएको छ । विभिन्न ठाउँबाट राहत संकलन समेत भइरहेको छ ।
प्रतिक्रिया