दक्षिण सुडानको राजनीतिक अवस्थामा सुधार आएको छ : संयुक्त राष्ट्रसंघ
सुडान । संयुक्त राष्ट्रसंघले दक्षिण सुडानको राजनीनिक अवस्थामा केही सुधार आएको बताएको छ । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका उच्च दूत निकोलास हेसमले सो कुराको जानकारी दिए ।
उनले दक्षिण सुडानमा नयाँ संविधान निर्माण गर्ने र राजनीतिक सुधार गर्ने कामको थालनी भएको र त्यसमा केही प्रगति पनि भएको देखिएको बताएका हुन् ।
तर यहाँको सुरक्षाको अवस्थाका बारेमा भने उनले चासो व्यक्त गरेका छन् । उनले भनेका छन् कि दक्षिण सुडानको राजनीतिक र न्यायपालिकाको सुधारका बारेमा काम अघि बढेको छ र यहाँको सरकारले त्यस क्षेत्रमा काम गरेको छ । तर सबैले सुरक्षाका बारेमा भने चिन्ता व्यक्त गर्नुपर्ने उनले बताए । संयुक्त राष्ट्रसंघले सुरक्षाका क्षेत्रमा अझै समन्वय बढाउनुपर्ने उनले सुझाव दिए ।
उनले भने, ‘यहाँ संयुक्त राष्ट्रसंघले गएको मे महिनामा राजनीतिक प्रक्रियालाई अघि बढाउने एक कार्यदल गठन गरेको छ र त्यसले आफ्नो काम थालेको छ ।’
यहाँका राष्ट्रपति साल्भा किरले हालैमात्र यहाँको एक विधायिकामा ५५० जना थप गरेर पुनर्गठन गरेका थिए । त्यस विधायक सभाले यहाँ नयाँ संविधान निर्माण गर्ने काम गरिरहेको पनि उहाँले जानकारी दिए ।
हाल पनि संसारको कान्छो देशका रुपमा चिनिएको दक्षिण सुडान १० वर्ष अघि नयाँ राष्ट्रका रुपमा स्थापना भएको हो । आगामी जुलाई ९ मा यो देशले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ ।
साथै संयुक्त राष्ट्रसंघ र विश्वका कतिपय देशहरुको सहयोग र समन्वयमा यहाँ नयाँ संविधान निर्माण गर्ने काम पनि भइरहेको बताइएको छ ।
रासस
रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।
प्रतिक्रिया