कोटा तोकेर सर्तसहित हवाई उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै बन्द गरेको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्तसहित हवाई उडान खुला गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालनका लागि अनुमति दिइएको छ । यसको तालिका र मिति भने मन्त्रालयले तय गर्ने जनाइएको छ । मन्त्रालयले बुधबारसम्म तालिका तय गर्ने तयारी गरेको छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको हो ।
अब काठमाडौं-दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं-इस्तानबुलमा साताको २, काठमाडौं-दुबई रुटमा समेत सातामा चार उडान हुने भएको छ । काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं-कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।
दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला गर्ने निर्णय भएको छ । यस्तै, काठमाडौं-छेन्दु र ग्वाङझाओ रुटमा साताको एक-एक उडान हुने गरी सेवा खुला गरिएको छ ।



प्रतिक्रिया