बिहीबार, वैशाख १३, २०८१

‘बैंकिङ क्षेत्रले राष्ट्रको आवश्यकता पनि बुझ्नुपर्छ’

नेपालखोज २०७८ असार १० गते १२:४२

एकै ठाउँमा २० बैंकको शाखा कार्यालय खोल्नुभन्दा एउटै बैंकको शाखालाई अरुले पनि प्रयोग गर्न सके गाउँगाउँमा बैंकको सुविधा पुग्छ ।

‘यसपालिको मौद्रिक नीति समय सुहाउँदो आउनुपर्छ’

काठमाडौं । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले देशका सबै ठाउँमा वित्तिय पहुँच अर्थात् गाउँगाउँमा पनि बैंक तथा वित्तीय संस्था पुर्‍याउने नीति लिएको लामै समय भएको छ । तर अहिलेसम्म पनि देशका ग्रामीण तथा विकट जिल्लाका ग्रामीण भेकमा बैंकको सेवा विस्तार हुन सकेको छैन ।

ठूलो बजार र जनघनत्व धेरै भएको ठाउँमा आर्थिक कारोबार धेरै हुने भएकाले बैंक तथा वित्तीय संस्थाहरू गाउँगाउँमा जानुभन्दा सहरमै केन्द्रित हुने गरेका छन् । जसले राष्ट्र सरकार र राष्ट्र बैंकको नीति कार्यान्वयन हुन नसकेको बताइन्छ । तर पछिल्ला दुई वर्षयता भने केही बैंकहरूले विकट गाउँठाउँमा पनि आफ्नो शाखा कार्यालय विस्तार गरेको पाइएको छ । यसले पहिलेको तुलनामा अवस्था सुधारोन्मुख देखिएको छ । तर यति मात्रै पर्याप्त भने होइन ।

बैंक र वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवन गोल्यान सबै नागरिकलाई वित्तीय पहुँच गाउँगाउँमा पुर्‍याउन र साना उद्यमीका लागि काम गर्नुपर्छ भन्ने सामाजिक उत्तरदायित्व बैंकहरूले पनि बुझ्नुपर्ने बताउँछन् । देशको मेरुदण्ड नै बैंकिङ क्षेत्र भएकाले पैसा कमाउने मात्र नभइ यो क्षेत्रले राष्ट्रको आवश्यकता पनि बुझ्नुपर्ने उनको धारणा छ ।

नेपालखोजसँगको विशेष कुराकानीमा उनले त्यसका लागि उनले नयाँ विकल्पसमेत पेस गरेका छन् । ‘सबै बैंकको सबै ठाउँमा शाखा कार्यालय हुनुपर्छ भन्ने छैन । एक बैंकले अर्को बैंकको शाखा कार्यालयलाई प्रयोग गर्न सक्छ,’ उनले भने । एउटै ठाउँमा २० वटा बैंकको शाखा कार्यालय खोल्नुभन्दा एउटै बैंकको शाखालाई अरु बैंकले प्रयोग गर्न सके गाउँगाउँमा बैंक पुग्ने उनको दाबी छ । एनएमबी बैंक सञ्चालक समितिका अध्यक्षसमेत रहेका गोल्यानले नेतृत्व गरिरहेको सिबिफिनले कोरोना भाइरसको महामारीमा पनि विभिन्न काम गरिरहेको छ ।

सिबिफिनले के गरिरहेको छ ?
बैंकहरूले लुट्यो, बर्दिधारी गुन्डाजस्तो भयो भन्ने कुराहरू बेला-बेला आउँछन् । कुनै पनि बैंकले यदि कुनै ज्यादति गरेको छ भने अरु बैंकलाई असर नपर्ने गरी जसले गल्ती गरेको छ त्यसलाई मात्र दण्डित गर्ने गरी राष्ट्र बैंकमा बुझाउने र त्यसबारे पत्रकार सम्मेलन गरेर सबैलाई जानकारी गराउने योजना सिबिफिनको छ ।

‘क, ख, ग, वर्गका बैंकको औचित्य र दायित्व के छ त्यसबारे हामीले अध्ययन गरिरहेका छौं । हामीले दिएको सर्भिस, आजसम्म गरेको काम र बैंकिङ क्षेत्रले गर्नुपर्ने दायित्वलगायत विषयमा अध्यययन भइरहेको छ,’ सिबिफिनका अध्यक्ष एवं उद्यमी गोल्यानले भने, ‘अहिले कोरोना महामारीको तेस्रो लहरमा बालबालिकामा संक्रमण धेरै देखिएको र त्यसबाट ठूलो जोखिम बढेकाले त्यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले केही सहयोग गर्न लागिपरेका छौं ।’

मौद्रिक नीति अहिलेको समय सुहाउँदो आउनुपर्नेमा पनि सिबिफिनको जोड छ । सरकार, राष्ट्र बैंकसँग कुनै पनि नीति नियम ल्याउँदा राय लिएर मात्रै ल्याउन अध्यक्ष गोल्यानले सुझाएका छन् ।

बैंक र वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष एवं उद्यमी पवनगोल्यानसँगको विस्तृत कुराकानी केही बेरमा प्रकाशन गर्नेछौं ।

प्रतिक्रिया