शुक्रबार, जेठ ४, २०८१

डढेलो पछि पनि वसन्त आउँछ

नेपालखोज २०७८ असार १० गते १४:३७

हरियो सुसाइड नोट बोकेका परदेशीहरू आउँथे
मगमगाउँथे हार्दिक भावहरू
झमझमाउँथे प्रेयसीका पाउजु
र घिस्रिरहन्थ्यो बुढो लौरी
आमाको घाँसको भारीसँगै गुन्जिन्थ्यो जुहारी
घन्किरहन्थ्यो आदिवासी धुन
ती सबै-सबै कहाँ गए ?
विज्ञान, दर्शन र इतिहास सुनेर थोत्रिएको
पिँढीको गुन्द्री बिर्सिएर
कुन यात्रामा निस्किए माथिल्ला घरे माइला बा ?
भोलि यही बाटोमा भेटिएला/नभेटिएला
आमाका पैतालाका डोबहरू !

न कुनै आहत
न कुनै पदचाप
समय आफैं मलामी आफैं मुर्दा बनेर लम्पसार छ
ए ! छिरिङ
ए ! खान
चित्र प्रदर्शन गर्न
किलोको आड चाहिएजस्तै
देशलाई चाहिएको छ
हाम्रा पाखुराहरूको आड
हाम्रा चेतनाहरूको आड
मौरीहरू मुर्झाउन नखोज
भर्नै बाँकी छ
यो देशको घारमा महको चमक !

झुल्किन्छ-झुल्किन्छ
हामीले जीवनभर खोजिरहेको उज्यालो घाम
पर्दा बनेको यो कैदी समयमा पनि
तराई, चुरे भावर र पहाडमा
महाभारत, हिमाल र भोटमा
कुन-कुन जातका फूल फक्रिसके होलान् ?
जंगलमा डढेलोपछि पनि रुख/बिरुवा पलाउँछन् ।
जंगलमा डढेलोपछि पनि वसन्त आउँछ ।

अमृता स्मृति
धादिङ
राष्ट्रिय कविता महोत्सव २०७८ मा दोस्रो भएको कविता ।

प्रतिक्रिया