मंगलबार, मंसिर १८, २०८१

कठै ! छोरी पो जन्मेछौ नि ?

आचार्य प्रभा २०७८ असार १९ गते ९:००

मानिसहरु झगडाको फैसला मिलाउन भेला भइसकेका थिए । रजनी र सन्तोषी पनि आ-आफ्ना छोरा, छोरी लिएर आइसकेका थिए ।

भेला भएकाहरुमध्येबाट प्रमुखले प्रश्न गरे। – ‘भन्नु होस् यिनीहरुबीच के विषयमा झगडा भएको रहेछ ?’
रजनीले भनिन्। – ‘मेरी छोरीलाई जहिल्यै यो केटोले जिस्काएर हैरान पार्छ भनेर छोरीले सधैं घरमा सुनाउँछे । अति भएर हिजो त धरनासो खुस्किने गरी हानी छ। “

सन्तोषीले पनि आफ्नो छोराको सही थाप्दै भनिन्- ‘छोरा मान्छेको जात यस्तै हुन्छ भनेर जानीजानी किन त्यहि बाटो भएर हिँड्नु ? तर्किएर हिँड्दा पनि हुन्न र ?”

उन्को कुराले निताशाको कन्पारो तातिएर भन्न थालिन्- ‘ए केटा मान्छेले मनपरि गर्दा केटीले चाहिँ सहेर तर्किएर हिँड्नुपर्ने ? तपाईं आफैं स्वास्नी मान्छे भएर छोरा र छोरीमा विभेद गर्ने ? अति भएर मैले कुटेकी हुँ । के ठानेको छ छोरीको जातलाई ? अबदेखि यस्तो हर्कत देखाउँदैन होला नि ?’

निताशाको कुराले शैलेश नतमस्तक बनेर झोक्राइरहेको थियो ।

त्यहीबीच खास्खुस कुरा भइरहेको थियो। -‘यी सन्तोषी पनि छोरा जन्माएँ भनेर उबेला पनि कम फुर्किएकी थिइन् र ? रजनीकी छोरी जन्मिँदा ‘कठै छोरी पो पाइछौं नि ? भनेर भनेकी थिइन् रे। ‘अहिले उसैकी छोरीको दनक भेटेछ आफ्नो छोराले ।’

गाउँ प्रमुखले अन्त्यमा भने, ‘केटीहरुमाथि कुदृष्टि लाउने । छोरी मान्छेप्रति हेपाहा प्रवृत्ति राख्ने युवाहरुले सजाय त पाउँनैपर्छ । तर समय बद्लिएको छ अब छोरीहरु निर्बल छैनन् । आफ्नो सुरक्षा गर्न आफैं सक्षम छन् । शैलेश तिमीले निताशासँग माफी माग् । अबदेखि यस्तो कुकृत्य गर्दिनँ भनि ।’

निताशाले भनिन्- ‘माफी माग्नु पर्दैन मसँग । उसलाई आफ्नै आत्माग्लानिले पोलेको छ। यस्तै गुन्डाहरु तह लाउन नै मैले कराते सिकेकी हुँ । सायदै अब यस्तो हर्कत कसैसँग गर्ला यो कुपुत्रले । आन्टी अब त कठै ! छोरी पो जन्मिछौं नि ? भनेर मेरी आमासँग चिन्ता व्यक्त गर्नु हुन्न होला नि ?’
सन्तोषी पनि छोराको निरीह हालतले अघि नै नतमस्तक बनिसकेकी थिइन् ।

प्रतिक्रिया