प्रधानमन्त्रीसहित ५ मन्त्रीको मन्त्रालय बाँडफाँड, ओलीले रक्षा र परराष्ट्र सम्हाल्ने

नेपालखोज २०७८ असार १० गते १७:३०

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरेका छन् । रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्रीले आफूसहित अन्य चार जना मन्त्रीलाई मन्त्रालय बाँडफाँड गरेका हुन् । सर्वोच्च अदालतले २० जना मन्त्रीलाई पदमुक्त गरेपछि मन्त्रालय खाली रहेकाे थियाे ।

प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय सम्माल्ने भएका छन् भने थप तीन वटा मन्त्रालयको जिम्मेवारी उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई दिएका छन् ।

पौडेलले अर्थसहित, गृह, उर्जा र उद्योग मन्त्रालयको जिम्मेवारी पाएका हुन् । साथै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य, वन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

साथै लिलानाथ श्रेष्ठलाई कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया