दोस्रो र तेस्रो किस्ता नलिएका भूकम्पपीडितलाई कात्तिक मसान्तसम्मको समय सीमा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म निजी आवास निर्माण गर्न नसकेका भूकम्प पीडितहरुलाई कार्तिक मसान्तसम्मको समय सीमा दिने भएको छ । प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको समितिको १९औं बैठकले यस्तो निर्णय गरेको हो ।
कोभिड१९ महामारीलगायतका कारणले कतिपय कारणले पीडितले दोस्रो र तेस्रो किस्ता नलिइसकेकोले समय सीमा बढाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । यसका साथै पुनर्निर्माणका बाँकी कामहरु पनि आगामी आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकभित्र सम्पन्न गर्ने भएको छ । २०७२ साल पुस १४ गते गठित समिति आफ्नो कार्यकालको अन्तिम चरणमा रहेको छ । यसअघि प्राधिरकणले आफ्ना सबै कार्य यसै आर्थिक वर्षको अन्त्यसम्मा सम्पन्न गर्ने लक्ष्य तोकेको थियो ।

बैठकले निर्माण गरेका तर पुरा नगरेकातर हालसम्म कुनै किस्ता नलिएका भूकम्प पीडितहरुको आवास स्थानिय निकायमार्फत प्राविधिक जाँच र यथासम्भव सम्भव सुधार गराएर उपलब्ध गराउन निर्णय समेत गरेको छ । बैठकले नेपालको पुनर्निर्माण सम्बन्धी प्रस्तावित अन्तराष्ट्रिय सम्मेलन आगामी मंसिर २१–२३ अर्थात डिसेम्बर ७–९ मा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्ति कहिले कसरी आइलाग्छ भन्ने कुरा मानवको हातमा नभएको बताउँदै यसबाट मानवीय र भौतिक क्षति रोक्ने तयारी मात्र गर्न सकिने बताए । यसका लागि जमिन हावापानी आगोजन्य विपत्तिको सामना गर्न अलग-अलग किसिमले तयारी गरिनुपर्ने बताए ।

नदि किनारका वस्तीहरु सदैव जोखिमको विषय रहने बताउँदै उनले हरेक भूकम्पले नयाँ हिमताल निर्माण गर्ने र पुरानो विस्फोट गराउने बताए । त्यसैले विपतकाे सामना गर्नका लागि विगतदेखिको भुगोल बनावट, विगत् र भविष्यका घटनालाई हरेर जोखिम न्युनिकरणको तयारी गरिनुपर्ने उनले बताए । बैठकमा प्राधिकरणको समयावधि पुरा भइसकेपछि विपत् व्यवस्थापनका लागि एउटा स्वायत्त निकाय आवश्यक रहेको र साथै भूकम्पलगायतका प्राकृतिक विपतकाबारे अनुसन्धान केन्द्र स्थापना गर्नसमेत प्रस्तावित गरिएको छ । यसका साथै धरहरा क्षेत्रको पहिलेको टक्सार भवनमा भूकम्प संग्रहालय बनाउन समेत प्राधिकरणले प्रस्ताव गरेको छ ।

बैठकमा दिइएको जानकारी अनुसार निजी घरमा क्षति पुगेका कुल आठ लाख ८ हजार दुई सय ८२ लाभग्राहीमध्ये ९९.३६ प्रतिशतले प्रथम किस्ता लिएका छन् भने दोस्रो किस्ता ८८.६२ प्रतिशतले लिएको जानकारी पनि दिइएकाे छ । बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले प्राधिकरणले पुनर्निर्माणमा प्राप्त अनुभव समेतलाई ध्यानमा राखी “राष्ट्रिय भवन संहिता” मा परिमार्जन गरिएको जानकारी दिए ।
यसैगरी भूकम्प प्रभावित सम्पूर्ण जिल्लाको “पहिरो जोखिम नक्शांकन” कार्य गरी राष्ट्रिय विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिएको पनि उनले बताए ।

प्रतिक्रिया