बिहीबार, चैत १५, २०८०

‘बिमा क्षेत्रमा सकारात्मक संकेत देखिन थालेको छ’

जगत भण्डारी २०७८ असार ११ गते १५:२२

‘नयाँ कम्पनी आउन नरोकिएसम्म मर्जरमा जान सकिँदैन’

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा बिमा क्षेत्रलाई पनि राम्रै प्राथमिकता दिएको छ । साथै आर्थिक नीति र मौद्रिक नीतिले बिमा क्षेत्रप्रति राज्यको दृष्टिकोण सकारात्मक रहेको सन्देश दिएको बताइन्छ । बिमाप्रति आम नागरिकको आकर्षण सोचेजस्तो नभए पनि पछिल्लो चार वर्षलाई हेर्ने हो भने अवस्था केही सुधार भएको देखिन्छ । अन्य विकसित देशमा जस्तो नेपालमा बिमाप्रति नागरिकको अभिरुचि कम देखिनुको प्रमुख कारण आम्दानीको स्रोत नहुनु नै रहेको नेपाल बिमक संघका अध्यक्षसमेत रहेका दीपप्रकाश पाण्डे बताउँछन् ।

शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका पाण्डले नेपालखोजसँग विशेष कुरा गर्दै बिमामा आमनागरिकको आकर्षणको कुरा गर्दा पहिला आम्दानी हेर्नुपर्ने सुझाउँछन् । ‘आजको आवश्यकता नै पूरा हुँदैन भने भोलिका लागि कसैले सोच्छ र ?’ उनले प्रतिप्रश्न गरे, ‘त्यसकै प्रभावले नेपालमा बिमा त्यति पपुलर हुन सकेको छैन ।’

त्यति मात्र होइन यस क्षेत्रले म्यानपावर डेभलपमेन्टमा विशेष ध्यान दिनुपर्ने उनको जोड छ । ‘कि कागज बेच्ने कि त सर्भिस नै त हो,’ उनले भने, ‘सर्भिस दिने भनेको म्यानपावरले नै हो, त्यसैले यसमा केही ध्यान दिन आवश्यक छ ।’

नेपालमा बिमाहरूको अवस्था हिजोभन्दा आज राम्रो छ आजभन्दा भोलि राम्रो हुने विश्वास उनले व्यक्त गरेका छन् । बिमा कम्पनीमा प्रतिस्पर्धाको भावना बढेकाले बजार राम्रो भएको र यसले भविष्यमा पनि बिमाको अवस्था सुधार हुँदै जाने सकारात्मक संकेतहरू देखिन थालेको उनको भनाइ छ ।

कस्तो छ शिखर इन्स्योरेन्सको अवस्था ?
शिखर इन्स्योरेन्स ४/५ वटा उद्देश्यले स्थापना गरिएको हो । बिमा कम्पनीहरूलाई व्यावसायिक बनाउने, दक्ष जनशक्ति (म्यानपावर) को विकास गर्ने, बिमा कम्पनीमा लगानी बढाउने आदि अहिले प्रायः सबै उद्देश्य पूरा हुने क्रममा रहेको उनले बताए । ‘नेपालजस्तो देशमा ठूलो लगानी गर्नुहुन्न भन्ने सोच थियो हामीले ठूलो लगानी गरेर त्यो सोचमा सकारात्मक सन्देश दिने प्रयास गरेका छौं,’ उनले भने, ‘अहिले हाम्रो लगानी साढे ४ सयको हाराहारीमा पुगेको छ, जसबाट राज्यलाई वार्षीक ८०–९० करोड प्रत्यक्ष/अप्रत्यक्ष रुपमा कर बुझाइरहेका छौं ।’

अहिले शिखर इन्स्योरेन्सले देशभरका एक सय तीनवटा शाखा कार्यालयबाट ६५० जनाभन्दा बढी कर्मचारीको परिचालनबाट काम गरिरहेको छ ।
शिखरमा अहिले अप्रत्यक्ष रुपमा समेत गरी तीन लाखको हाराहारीमा उत्पादन र पोलिसी होल्डर छन् । ग्रुपमा हेर्ने हो भने ५/६ लाखलाई सपोर्ट गरिसकिएको छ ।

अहिले अस्वस्थ प्रतिस्पर्धा छैन ?
बिमा क्षेत्रमा कहिलेकाहीँ अस्वस्थ प्रतिस्पर्धा पनि हुन्छ, भएको थियो तर अहिले त्यस्तो अवस्था नरहेको उनले बताएका छन् । ‘सरकारले पनि अहिले नयाँ बजेटमा बिमालाई प्राथमिकता दिएको छ, यसले पनि केही सुधार हुँदै जाने निश्चित देखिन्छ,’ नेपालखोजसँगको कुराकानीका क्रममा उनले भनेका छन्, ‘सरकार र नियमनकारी निकायहरूको सोचमा केही बदलाव आएको देखिएको छ, यसले सम्पूर्ण बजारलाई सकारात्मक सन्देश दिन सक्छ ।’

‘नयाँ कम्पनी आउन नरोकिएसम्म मर्जरमा जान सकिँदैन’
जबसम्म नयाँ कम्पनीहरू आउने क्रम रोकिँदैन तबसम्म मर्जरमा जाने सम्भावना नरहेको उनी बताउँछन् । ‘नयाँ कम्पनी आउँदा अस्वस्थ प्रतिस्पर्धा भइरहन्छ, बरु नयाँ कम्पनी आउनेबेलासम्म पुराना कम्पनीहरू बलियो भएर अघि बढ्नुपर्छ जस्तो लाग्छ,’ उनले भने, ‘हाम्रो रोल भनेको ग्राहकलाई सेवा दिने हो, बिमा गर्ने भनेको दु:खको साथी हो भन्ने भए मात्रै यसप्रति मानिसहरूको चासो बढ्न सक्छ ।’ आगामी योजनाबारे भने उनले सुनाउन चाहेनन् ।

नेपाल बिमक संघले के गरिरहेको छ ?
नेपाल बिमक संघका अध्यक्षसमेत रहेका पाण्डे संघले पनि विशेष भूमिका निर्वाह गरिरहेको बताउँछन् । बिमा क्षेत्रको सुधारका लागि नेपाल बिमक संघले पनि आफ्नै भूमिका खेलिरहेको उनले बताए । ‘सरकारले पनि संघसँग आवश्यक सल्लाह मागिरहेको हुन्छ, हामीले आफूले लिने सहयोग पनि लिइरहेको हुन्छौं,’ पाण्डेले भने, ‘तर हामी नियमनकारी निकायसँग नीति नियम बनाउने काममा लाग्दैनौं मात्र सुझाव दिन्छौं ।’

नेपाल बिमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेसँगको विस्तृत कुराकानी असार १३ गते आइतबार नेपालखोजमा प्रकाशन हुनेछ । प्रतीक्षा गर्नुहोला ।

प्रतिक्रिया