‘कविरदास कि उल्टी बानी, पहले खानी तब अश्रानी’

सन्त कविरदास १५औं शताब्दी तिरका भारतका प्रसिद्ध कवि हुन् । कविरदास सम्भवत: एक्लो त्यस्ता बहुआयामिक व्यक्तित्वका रहस्यवादी कवि हुन् जसलाई ‘धार्मिक’ र ‘सेक्युलर’ दुवै भन्न सकिन्छ ।
कविरदासको बाबुआमा को थिए भन्ने बारे इतिहारकारहरुलाई नै भ्रम छ । भनिने गरिन्छ कि उनलाई ‘निमा’ र ‘निरु’ नाउँ गरेका जुलाहा ( कपडा बुन्ने ) मुसलमान दम्पतीले सानैदेखि पालेका थिए । उनको वास्तविक आमाबाबुको अत्तोपत्तो देखिँदैन । स्वयं कविरले पनि आफूलाई जुलाहाका रुपमा प्रस्तुत गरेको पाइन्छ । उनी भन्छन्- ‘जाति जुलाहा नाम कविरा, बनी बनी फिरो उदासी ।’ उनी मुसलमानको घरमा सानैदेखि पालिए पनि त्यसबेलाको हिन्दु- मस्लिम धर्मप्रति उनको कुनै विशेष आस्था र लगाव देखिँदैन । कविर भारतको काशी (वनारस) का हुन् ।
एउटा गरिब र पेसामा जुलाहा हुन् । उनी वृद्ध हुँदा उनको आफ्नै नाम, यश र कीर्तिले ज्यादै दु:ख दिएको हुनाले मर्ने बेलामा उनले काशी छाड्नुपरेको थियो । उनी पढेलेखेका थिएनन् । उनी भन्थे- ‘मसी कागज छूवो नहीं, कलम गही नहीँ हात ।’ त्यसबेला उनका लयबद्ध कविता रुपी वाणी (दोहा) सुनेर मानिसहरु छक्क पर्थे र उनको कुराहरु सुन्न भिड लाग्ने गर्थ्यो ।
कविर रुढीवादी विरोधी थिए । मूर्ति पूजाका विरोधी थिए । उनले मुसलमान र हिन्दु दुवैलाई व्यंग्य गर्थे । उनी भन्थे- पाहन पूजे हरि मिलैं, तो मैं पूजौं पहार । था ते चाकी भली, जासे पिसी खाए संसार ।।
(अर्थात्, पत्थरलाई पूजा गरेर ईश्वर पाइने भए म पहाडलाई पूजा गर्थे । यदि पत्थरलाई नै पूजा गर्छौं भने बरु जाँतोलाई पूजा गर किनकि त्यसले पिसेको अन्नहरु संसारले त खान पाइरहेको छ ।)
कविरका लागि ईश्वर छ पनि, छैन पनि । कविरलाई शान्तिमय जीवन प्यारो लाग्थ्यो । उनी सत्य, अहिंसा र सदाचारका प्रशंसक थिए । उनी साधु प्रवृत्तिका मानिस थिए । उनी समाज सुधारक पनि थिए । उनी त्यसबेलाको समाजको धार्मिक पाखण्ड र अन्धविश्वासलाई समाप्त गर्न चाहन्थे । उनी नैतिक मूल्य पक्षधरका यस्ता सन्तकवि थिए । जसलाई दुनियाँको पथ प्रदर्शकभन्दा हुन्छ । उनले मनुष्य र जीवनको सम्बन्धलाई यथार्थमा हेर्ने कोसिस गरेको पाइन्छ ।
आजभन्दा ५० वर्षअगाडि मेरो घर भएको विराटनगर गोग्राहा बरगाछिमा त्यो बेला निकै पातलो बस्ती थियो । त्यहाँ त्यो जमानामा कविरपन्थीहरुको जनसंख्या बाक्लै थियो । उहाँहरु पूजाआजा गर्नेहरुलाई मूर्ख रुढीवादी भनेर जिक्याउनुहुन्थ्यो भने हामीहरु पनि उहाँहरुलाई ‘कविरदास की उल्टी बानी, पहले खानी तब अश्रानी’ भनेर जिक्याउथ्यो ।
प्रतिक्रिया