मर्स्याङ्दीमा जेसीबी फस्यो, अपरेटरको सकुशल उद्धार

मनाङ । सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीमाथिको मोटरेबल पुलमा जेसीबी फसेको छ । नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिए ।
जेसिबी बीच भागमा नै रहे पनि नार्पाभूमि गाउँपालकाका अपरेटर सर्लाहीका बरथुवा नगरपालिका-७ स्थायी घर भएका २७ वर्षीय मुकेशकुमार कुशवारको सकुशल उद्धार गरिएको उनले बताए । जिल्लामा रहेको क्याराभान कम्पनीको एउटामात्रै डोजर पनि मर्स्याङ्दी नदीको बीचमा फसेको हो ।
नदीको सतह घटेपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न थालिएको हो । पुलमा बालुवा रहेकाले केही भाग भासिएकाले डोजर अड्किएको हो ।
पुलमा बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र बालुवा अड्किएर पानी जाने बाटो अवरोध हुँदा नदीले बस्तीतर्फ धार परिवर्तन गरेको छ । नदीलाई पहिलेको धारमा फर्काउन पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न अत्यावश्यक देखिएको छ ।

रासस
रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।
प्रतिक्रिया